कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ले ल्यायाे तरंग

काठमाडाैँ- दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ले तरंग पैदा गरेको छ ।

प्राविधिक शब्दावलीमा विश्व स्वास्थ्य संगठनले यसलाई ‘चिन्ताजनक भेरिएन्ट’ (भेरिएन्ट अफ कन्सर्न) भन्दै यसको नाम ‘ओमिक्रोन’ राखेको जनाएको छ । संगठनले ओमिक्रोन ‘चिन्ताजनक भेरियन्ट’ भएको पनि बताएको छ ।

अन्तराष्ट्रिय समाचारअनुसार ‘बि.१.१.५२९’ समेत भनिने ओमिक्रोन भेरियन्टको उत्परिवर्तन संख्या धेरै र पुन: संक्रमण हुने जोमिख बढी रहेको छ । हालसम्म ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकासहित बेल्जियम, इजरायल, बोत्स्वाना र हङकङमा फेला परिसकेको छ ।

युरोपेली युनियन र बेलायतलगायतकाले दक्षिण अफ्रिकी मुलुकबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन् । त्यस्तै, अमेरिकाले समेत दक्षिण अफ्रिकासहित अन्य मुलुकबाट हुने सबै यात्रामाथि प्रतिबन्ध लगाउने जनाएको छ ।

कोरोनाको नयाँ भेरिएन्ट फेला परेपछि अमेरिकाको न्युयोर्कमा संकटकालको घोषणा गरिएको छ । न्ययोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेका हुन् ।

यता, दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड्स यात्रा गरेका यात्रुहरुमध्ये ६१ जनामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टी भएपछि नेदरल्याण्ड्सको विमानस्थल नजिकको होटलमा क्वारेन्टिनमा राखिएको छ । दक्षिण अफ्रिकाबाट २ वटा विमानस्थलबाट उडान भरेका ६ सय यात्रु मध्ये ६१ जनामा संक्रमण पुष्टी भएको हो ।कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन बेलायतमा पनि फेला परेको छ । बेलायतमा दुई जनामा नयाँ कोभिड भेरियन्ट संक्रमित भेटिएको बेलायती स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

बेलायतको चेल्म्सफोर्ड, एसेक्स र नटिंगममा नयाँ केस फेला परेको बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका हुन् । नयाँ भेरिएन्टको कोरोना महामारी फैलन सक्ने भन्दै बेलायतले यसअघि नै ६ वटा मुलुकलाई यात्रा प्रतिबन्धको घोषणा गरेको थियो ।यस्तै एंगोला, मोजाम्बिक, मालावी र जाम्बियालाई पनि रेड लिष्टको सूचीमा राखेको छ । रेड लिष्ट अन्तर्गतका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ । बेलायतबाहेक बेल्जियममा पनि यो भाइरस देखिन थालेपछि यात्रामा थप कडाइ गर्न थालिएको छ ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिए ।विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेका छन् । प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिए ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभाविकत मुलुकहरूसँगको उडानमा प्रतिबन्ध लगाउन माग गर्नुभएको छ ।भारतले हङ्कङ, बोत्सवाना र इजरायलबाट आउने सबै यात्रीहरुको स्वास्थ्य जाँच गर्न विमानस्थललाई निर्देशन दिएको छ ।-एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार