मिल्यो ‘झ्याम्मै चौतारी’ र ‘पिपल पातैमा’भाका बिचको विवाद

  हिमाल समाचार
245 Shares

काठमाडौं – अग्रज सङ्गीतकर्मीको रोहवरमा भएको द्धिपक्षिय छलफलबाट ‘झ्याम्मै चौतारी’ र ‘पिपल पातैमा’भाका मिल्दोजुल्दो विवादको समाधान निकालिएको छ । वरिष्ठ गायिका कविता आलेको बौद्धिक सम्पत्तिको रूपमा रहेको गीत ‘झ्याम्मै चौतारी’सँग मिल्दोजुल्दो भाकामा ‘पिपल पातैमा’ गीत सार्वजनिक भएपछि विवाद सतहमा आएको थियो ।

आइतबार सङ्गीतकार सङ्घ नेपालको कार्यालयमा भएको छलफलले गीतको ओरिजिनल सर्जकको नाममा कविता आलेको नाम राख्ने र यसअघि सङ्कलक भनिएको मोहन खड्काको नाम रि–क्रियटरमा राख्ने गरी छलफलले निष्कर्ष निकालेको हो ।

मूल सर्जक कविता आले, दुर्लभ क्रियशनका सञ्चालक बुद्धिराज राई (दुर्लभ जन्तरे) र ‘पिपल पातैमा’का निर्माता मोहन खड्काबिच भएको त्रिपक्षीय सहमति पत्रमा ‘पिपल पातैमा’बाट आर्जित युट्युब अर्निङको आधा हिस्सा दुर्लभ क्रियशनका सञ्चालक बुद्धिराज राई (दुर्लभ जन्तरे)लाई प्रदान गर्ने र दुर्लभ क्रियशनले मिन्सु इन्टरटेनमेन्टमा डिजिटल क्लेम नगर्ने उल्लेख गरिएको छ ।

छलफलमा सङ्गीतकारहरू सुरेश अधिकारी, वसन्त सापकोटा, चेतन सापकोटा, महेश खड्का, विक्रम राई, नवराज ढुङ्गाना, अनिल कोयी राई, टेक नाछिरिङ, विष्णु तामाङ लगायत सहभागी थिए ।

२०३४ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको लोक गीत ‘झ्याम्मै चौतारी’लाई रिमेक गर्दै डेढ वर्षअघि दोहोरी भर्सन सार्वजनिक गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार