विराटनगर सिटी एफसीका प्रशिक्षक यान ल सहित ४ जनालाई कारवाही

  हिमाल समाचार
28 Shares

काठमाडाैं– खेल भावना विपरित व्यवहार गरेको र अनुशासन तोडेको भन्दै विराटनगर सिटी एफसीका भारतीय प्रशिक्षक यान लसहितसहित ४ जना कारवाहीमा परेका छन्।

नेपाल सुपर लिग (एनएसएल)को आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले ललितपुर सिटी एफसीविरुद्धको खेलमा खेलाडीलाई मैदान छाड्न उक्साएको र अनुशासन तोडेको भन्दै उनीहरुमाथि कारवाही गरेकाे हाे।
आयाेजकले बुधबार जारी गरेकाे विज्ञप्ति अनुसार प्रशिक्षक लसहित विराटनगरका टेक्निकल डाइरेक्टर सोनम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक व्यवस्थापक मिलन गुरुङलाई कारवाही गरिएकाे छ।

यस्तै,आयाेजकले विराटनगरलाई एक लाख रुपैयाँ जरिवानासमेत तिराएकाे छ। यसका अलवा विराटनगरका प्रशिक्षक ललाई एनएसएलको अर्को सिजनमा प्रतिबन्ध लगाइएकाे छ भने ५० हजार रुपैयाँ जरिवाना माग गरिएकाे छ।

विराटनगरका प्रशिक्षकमाथि खेल भावनाविरुद्ध व्यवहार गर्दै खेलाडीलाई मैदान छाड्ने प्रोत्साहन गरेको, टचलाइन नाघ्नुका साथै पटक पटक अफिसियललाई अपशब्द र गालीगलौज गरेको आयाेजककाे ठहर छ।

विराटनगरका प्रशिक्षक लले प्रतियोगितमा बारम्बार नेपालका रेफ्रीको स्तरमाथि प्रश्न उठाएका थिए। उनले नेपाली रेफ्रीको स्तर भारतमा विद्यालयस्तरमा भन्दा कमजोर रहेको टिप्पणी समेत गरेका थिए।

यस्तै, विराटनगरका टेक्निकल डाइरेक्टर घले, सहायक प्रशिक्षक श्रेष्ठ र सहायक व्यवस्थापक मिलन गुरुङलाई आगामी सिजन एनएसएलको ३ खेलमा प्रतिबन्ध लगाइएकाे छ।

त्यसबाहेक आवश्यक देखिएमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले थप कारवाही गर्नसक्ने आयाेजकले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

दशरथ रंगशालामा वैशाख २५ गते भएको पहिलो खेलमा ललितपुर र विराटनगर दुवै टोलीका लागि प्लेअफमा पुग्नका लागि खेल जित्नै पर्ने अवस्था थियो।

उक्त खेलकाे ६२औं मिनेटमा लतिलपुरका विमल रानाले टोलीका लागि दोस्रो गोल गरेपछि विराटनगरका प्रशिक्षक लसहित अफिसियलहरूले खेलाडीलाई मैदान छाड्न लगाएको थियो।

उनकाे गाेल अफसाइड भएकाे भन्दै रेफ्रीको निर्णयप्रति असन्तुष्टी जनाउँदै विराटनगरका स्पेनिस फरवार्ड पेड्रो मान्जीबाहेक सबै खेलाडीले ७ मिनेट मैदान छाडेको थियो।

यद्यपि, आयोजक अधिकारीको आग्रहपछि खेलाडी मैदान छिरेका थिए। उक्त खेलमा ४–० ले पराजित हुँदै विराटनगर प्रतियाेगिताबाट बाहिरिएकाे थियाे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार