सगरमाथा क्षेत्रमा बिना अनुमती उडाइएको ड्रोन प्रहरीको नियन्त्रणमा

  हिमाल समाचार
49 Shares

सोलुखुम्बु – सगरमाथा क्षेत्रमा बिना अनुमती उडाइएको ड्रोन प्रहरीले नियन्त्रणमा लिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अनुमती बिना पोल्याडका नागरिकले उडाएको डिजी कम्पनीको ड्रोन आज बुधवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्र्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार खुम्बु भ्रमणमा आएका विदेशी नागरिकले लुकाइ छिपाइ ल्याएको भन्ने स्थानीयको सुचनाको आधारमा दिङ्बुचे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उक्त सामाग्री बरामद गरेको हो ।

जफत गरिएको सो ड्रोन क्यामेरा प्रहरीले सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयलाई बुझाएको प्रहरी निरीक्षक साहले बताउनुभयो । उहाँले भन्नुभयो,“ निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु क्षेत्रमा संरक्षित वन्यजन्तुहरु भएकाले यहाँ अनुमती बिना ड्रोन क्यामेरा उडाउन पाइदैन, यदि उडाएको थाहा पाएमा प्रहरीले त्यस्ता उपकरण नियन्त्रणमा लिएर निकुञ्जको सहयोगमा कारबाही प्रकृया अघि बढाउछ ।”

सो विषयमा कार्यालयले अनुसन्धान गरिरहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । -फायल फोटो
–––

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार