नेपाली कांग्रेस: सर्वोच्चको फैसला ऐतिहासिक

  हिमाल समाचार
7 Shares

काठमाडाैँ- प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक फैसला भनी स्वागत गरेको छ । सर्वोच्च अदालतको फैसलालगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य र ऐतिहासिक भएको बताएका हुन् ।

उनले फैसलाले एकसाथ महत्वपूर्ण तीनवटा सन्देश दिएको बताए । कार्यपालिकाकाले संविधान र कानुनभन्दा बाहिर गएर काम गरेको खण्डमा संविधानको रक्षा गर्ने र सही व्याख्या गर्ने सवालमा न्यायालयले कर्म गर्न सक्दछ भन्ने सन्देश दिएको उनले बताए । त्यसैगरी संसदलाई जोगाउनका लागि संविधानले सांसदलाई दिएको राजनीतिक अधिकारको रक्षा र सुरक्षा पनि न्यायालयले गरेको उल्लेख गर्दै शर्माले लोकतान्त्रिक यात्रालाई विधिभित्रैबाट लैजानुपर्छ भनेर पनि स्थापित गरेको बताए ।

शर्माले भने, ‘आजको सर्वोच्च अदालतको फैसला ऐतिहासिक छ । नेपाली कांग्रेस यसलाई स्वागत गर्दछ । यो फैसलाले एकसाथ महत्वपूर्ण तीनवटा सन्देश दिएको छ । एउटा सन्देश यदि कार्यपालिकाकाले संविधान र कानुनभन्दा बाहिर गएर कार्य गर्दछ भने हामीले संविधानमा नै व्यवस्था गरेको प्रबन्धबमोजिम संविधानको रक्षा गर्ने र सही व्याख्या गर्ने सवालमा हाम्रो न्यायालयले त्यो कर्म गर्न सक्दछ भन्ने सन्देश दिएको छ । र, संवैधानिक इजलास साँचो अर्थमा सम्मानित पुष्टि भएको छ । अर्को सन्देश यसले राजनीतिक रूपमा पनि दिएको छ । संविधानले संसदलाई जोगाउने राजनीतिक अधिकार सांसदलाई दिएको छ, त्यसको रक्षा र सुरक्षा पनि गरेको छ । यो फैसलाको अन्तरनिहित आत्माको व्याख्या गर्नुपर्दा, अब नेपालको संविधानसभाले निर्माण गरेको सविधानभित्रबाट कुनै पनि अधिनायकको जन्म, यसबाट अधिनायकवादतर्फ लैजान्छु भन्ने दुस्वस्न आजका प्रधानमन्त्री मात्रै होइन भविष्यमा कसैले पनि गर्नुहुन्न र लोकतान्त्रिक यात्रालाई विधिभित्रैबाट लैजानुपर्छ भनेर पनि स्थापित गरेको छ ।’

संविधान ठीक ठाउँमा आउनुपर्छ भनेर आ–आफ्नो स्थानबाट योगदान गर्नेहरूप्रति कांग्रेसले सम्मान व्यक्त गरेको छ । प्रवक्ता शर्माले पार्टीले सर्वोच्चको आदेशलाई नेपाली जनताको ऐतिहासिक जितको रूपमा, लोकतन्त्रको जितको रूपमा, नेपालको संविधानको जितको रूपमा र यो जितलाई जनताको हितमा प्रयोग गर्ने ऐतिहासिक अभिभाराको रूपमा पनि लिने बताए ।

प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि आवेगमुक्त भएर संयमतापूर्वक मार्गप्रशस्त गर्न ढिलाइ गर्नुहुनेछैन भन्ने विश्वास कांग्रेसले लिएको पनि शर्माले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार