रोक्पा कोभिड राहत निशुल्क स्वास्थ्य शिविर : तिङलाका ५५० लाभान्वित

  हिमाल समाचार
70 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङलामा आयोजित रोक्पा कोभिड राहत निशुल्क स्वास्थ्य शिविरबाट सयौँ नागरिक लाभान्वित भएका छन् ।

रोक्पा नेपालको आयोजना, मद्यत नेपालको सहयोग तथा सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा ३ दिन संचालन गरिएको स्वास्थ्य शिविरबाट ५५० जना लाभान्वित भएका छन् । कोरोना कहरका कारण दीर्घ रोगीलाई स्वास्थ्य उपचारमा भएको समस्यालाई मध्यनजर गर्दै शिविर आयोजनामा समन्वय गरेको नगरपालिका मेयर नाम्गेल जाङबु शेर्पाले बताए ।

उनले भने, ‘कोरोना संक्रमणको डरले गाउँमै रोग लुकाएर बसेका र दीर्घ रोगीको उपचारका लागि नगरले समन्वय गरेका हौँ । शिविर सम्पन्न भएको छ । सयौँ नागरिकले घरआँगनमै निशुल्क चिकित्सकीय उपचार सेवा पाउन सफल भए ।’

शिविरमा संलग्न टासील्हमू शेर्पाले कोरोनाका कारण स्वास्थ्य उपचारबाट बन्चित स्थानमा पुगेर उपचार सेवा दिदै आएको बताईन् । तिङलामा सम्पन्न शिविरमा दम, मधुमेह, रक्तचाप लगायतका दीर्घ रोगीको स्वास्थ्य परीक्षणका साथै औषधी वितरण गरिएको छ भने महिलामा पाठेघर, पिसावको संक्रमण, जिउ दुख्ने लगायतका समस्याको समेत उपचार गरिएको छ ।

गाउँमै स्वास्थ्य उपचार पाएपछि तिङलाका नागरिकहरुले खुसी व्यक्त गरेका छन् । उनीहरुले कोरोना कहरको बेलामा अस्पताल जार्ने वातावरण नबनेको अवस्थामा निशुल्क स्वास्थ्य शिविरले राहत दिलाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार