पालिकाबाटै शिक्षक माथि राजनितिक प्रतिशोध, विदा भए खुम्बुका २ शिक्षक

  हिमाल समाचार
924 Shares

सोलुखुम्बु – पालिकाको राजनितिक प्रतिशोधको सिकार बनेका खुम्बु पासाङ ल्हामु गाउँपालिका १ का दुई शिक्षकको एक साथ विदाई गरिएको छ । वडा नम्बर १ स्थित नौलेक आधारभुत विद्यालय पैँयामा विगत १३ वर्षदेखि अध्यापन गराउँदै आएका शिक्षक कान्डी शेर्पा र जाङबु शेर्पालाई विदाई गरिएको हो ।

नौलेक फाउण्डेशनको आर्थिक सहयोगमा सो विद्यालयमा विगत १३ वर्ष देखी अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएका दुई शिक्षकलाई पालिकाको दबावमा वडाध्यक्ष एवं फाउण्डेशनका प्रतिनिधि फुनुरु शेर्पाले जनही ७–७ लाख रुपैयाँसहित शनिबार स–सम्मान विदाई गरेका हुन् ।

गाउँपालिकाले शिक्षकहरु राजनितिक दलमा आवद्ध भएको आरोप लगाउँदै गत साउनमा दुई शिक्षकलाई पालिकाले हटाउने निर्णय गरेको थियो । दुई शिक्षकमध्ये आङ काण्डी शेर्पालाई पालिकाले वैशाख १५ देखि ३१ गतेसम्म विद्यालयमा अनुपस्थित रही राजनीतिक दलको कार्यक्रममा सहभागी भएको प्रति स्पष्टिकरण सोधेको थियो ।

त्यस्तै अर्का शिक्षक जाङ्बु शेर्पालाई भने लामो समयसम्म पटकपटक विद्यालयमा हाजिर नहुनुको कारण खुलाएर लिखित स्पष्टीकरण सोधेको थियो । तर, शिक्षकले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पालिकाले दुवै शिक्षकलाई साउन १ गतेदेखि विद्यालयमा हाजिर गर्न दिएको थिएन ।

निजि कोटाको शिक्षकलाई पालिकाले राजनितिक प्रतिशोध साधेपछि पैंयाका स्थानीय, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरुको भेलाले निर्णय फिर्ता लिन माग गरेपनि पालिका आफ्नो निर्णयबाट पछि नहटेपछि फाउन्डेशन करिब ६ महिनापछि शिक्षकको विदाई गर्न बाध्य भएको हो ।

फाउन्डेशनले कान्डी र जाङ्बुलाई आफैले छात्राबृद्धिमा अध्ययन गराएर १३ वर्ष अघि सो विद्यालयमा निजि कोटाको शिक्षकमा नियुक्त गरेको थियो । विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने दवै जना विदा भएपछि अभिभावक र विद्यार्थीहरुमा चिन्ता परेको छ ।

पालिकाले राजनितिक प्रतिशोध राखेर शिक्षकको विदाई गरेपनि त्यसको सजाय भने अब बालबालिकाले भोग्नुपर्ने स्थिती आएको अभिभावकको गुनासो छ । नौलेक आधारभुत विद्यालय करिब ४३ वर्ष अघि स्विस नागरिकहरुको सहयोगमा टहराबाट सञ्चालित विद्यालय हो ।

हाल फाउन्डेशनले सो विद्यालय र अन्य सरकारी विद्यालयमा अध्यनरत २०० जना भन्दा बढीलाई शैक्षिक सहयोग गर्दै आएको छ । जसको नेतृत्व हालका वडाध्यक्ष समेत रहेका फुनुरु शेर्पाले गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार