खिजीदेम्बामा युवालक्षित सीप विकास तालिम

  हिमाल समाचार
42 Shares

ओखलढुंगा- खिजीदेम्बा गाउँपालिकाले युवाहरुलाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यले सबै वडामा युवालक्षित सीप विकास तालिम दिन थालेको छ । गाउँपालिकाले ८ वटा छोटो अबधि, एउटा स्तरबृद्धि र २ वटा मध्यम अबधिको गरी ११ वटा युवा लक्षित घरेलु तथा सीप विकास तालिम अभियानकै रुपमा सुरु गरेको हो ।

गाउँपालिकाको नियमित कार्यक्रम अनुसार गाउँपालिकाका ९ वटै वडामा वडाको छनोट अनुसार छोटो अवधिको ७ दिने तालिम र गाउँपालिकास्तरमा ४५ दिने २ वटा तालिम सञ्चालन गरिएको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले बताए ।

गाउँपालिकाले गाउँपालिकास्तरमा ४५ दिने बाँस तथा निगालोसँग सम्बन्धित तालिममा प्रत्येक वडाबाट २ जनाका दरले सहभागी गराएको छ । यस्तै पालिकास्तरमै प्लास्टिक, पराल, खोष्टा आदि स्थानीयस्तरमा प्राप्त हुने कच्चा पदार्थको प्रयोगबाट तयार गरिने ढक्की, चकटी तथा अन्य समाग्री निर्माण सम्बन्धी तालिम सबै वडाबाट २ जनाका दरले महिलालाई सहभागिता गराएर सुरुवात गर्ने तयारी गरिएको छ ।

गाउँपालिकाले वडास्तरमा वडाको छनोट एवं मागका आधारमा सबै वडाका १६ जनाका दरले वडामै तालिम दिने तयारी गरेको छ । गाउँपालिकाले वडा नं १ मा कफी खेती, वडा नं २ मा चिया खेती, वडा नं ३ मा च्याउ उत्पादन, वडा नं ५, ६ र ७ मा बाख्रापालन, वडा नं ८ मा च्याउ उत्पादन र वडा नं ९ मा पहिले दिइएको तालिमको स्तरवृद्धि तालिम सञ्चालन गर्ने तयारी गरिएको छ ।

वडा नं ४ मा भने खुर्सानी खेती तालिमको सुरुवात भइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सीप विकास तर्फ १ सय ६४ जनालाई र पुराना उद्यमीको स्तरोन्नतितर्फ ५० जनालाई गरी २ सय १४ जनालाई तालिम दिने लक्ष्य लिएको खिजीदेम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार