क्विक इम्प्याक्ट प्रोजेक्ट : अवधि छोटो, सिकाई दीगो

  हिमाल समाचार
301 Shares

काठमाण्डौँ – सिन्धुली कमलामाई स्थित जनज्योति माविका प्रध्यानाध्यापक भिम विक्रम थापा भन्छन्, ‘एक दिन विद्यालयको सुझाव पेटिका खोल्दा एउटा कागज भेटियो । कागजमा छात्रा शौचालयमा भित्रपट्टीको छिस्केनी बिग्रिएको र बत्ति नहुदा अध्यारो भएकोले मर्मतका लागि अनुरोध गरिएको थियो । यो अनुरोध उनै किशोरीहरु, जस्ले जाईका, आईसीनेट र रीड नेपालले लागू गरेको क्विक इम्प्याक्ट प्रोजेक्टमा सहभागी थिए । किशोरीहरुको तर्फबाट समस्या थाहा पाएपछि तत्काल समाधान गरियो ।’ प्रअ थापाले रेडियो कार्यक्रम ‘मेरो रेडियो पाठशाला, मेरो भविष्य’सुन्न थालेपछि किशोरकिशोरीमा सक्रियता देखिएको बताए ।

‘हिजो रजस्वलाको समयमा लजाउने किशोरीहरु अहिले विद्यालय नर्ससंग आफ्ना समस्या राख्ने र सामाग्री लिने गर्न थालेका छन् ।’प्रध्यानाध्यापक थापाले भने । अहिले विद्यार्थीहरुले शुक्रबारे अतिरिक्त क्रियाकलाप र विद्यालय परिषर तथा कक्षा कोठा सरसफाईमा नेतृत्व लिने, आफ्ना कुरा राख्न धक नमान्ने लगायतका परिर्वतन देखिएको उनको भनाई छ ।

सिन्धुलीको कमलामाई नगरपालिका भित्रका १० विद्यालयका ९० किशोरी र १० किशोर क्विक इम्प्याक्ट प्रोजेक्टबाट लाभान्वित भएका छन् । अन्य सयौँ विद्यार्थी अभिभावक र शिक्षक अप्रत्यक्ष रुपमा लाभान्वित छन् । सिन्धुली मात्र होईन, परियोजना लागू भएका ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, रुपन्देही र बझाङका विद्यार्थीमा पनि परिर्वतन देखिएको छ ।

हरेक जिल्लामा १०–१० माध्यमिक विद्यालय छनौट गरिएको थियो । उक्त विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत ९ छात्रा र एक छात्र सहभागी गराई लक्षित समूह बनाईएको छ । उक्त समूहलाई निगरानीमा राखेर उनीहरुको पाठ्यक्रममा आधारित विज्ञान, गणित र आईसिटीका साथै जीवनउपयोगी सीपका बारेमा रेडियो कक्षा उत्पादन तथा प्रसारणमा ल्याइएको थियो ।

बझाङकी सरला महर, क्विक इम्प्याक्ट प्रोजेक्टमा सहभागी थिईन् । उनी भन्छिन्, ‘रेडियो कार्यक्रमको माध्यमबाट यो सिकेकी छु की, समाजमा रहेको लैङिगक असमानतालाई कसरी कम गर्न सकिन्छ ? समाजमा व्याप्त विकृतीहरुलाई कसरी हटाउन सकिन्छ ?भन्ने सोचको विकास गराएको छ । आफूमा भएका व्यक्तिगत विकासमा निकै टेवा पुगेको छ ।’

बझाङकी सन्ध्या जोशी पनि फुरुङग छिन् । आईसीटीको प्रयोग र माध्यमबाट हुने हिंसा तथा आपराधिक घटनाको बारेमा जानेको उनले बताईन् । ‘महिलालाई पुरुष सरह व्यवहार र पहूँच दिनुपर्ने, महिला शसक्तिकरण निर्णय लिने र समस्या समाधान गर्न सक्ने सीपको बारेमा पनि थाहा पाए । सिकेका ज्ञान र सीपलाई व्यवहारिक बनाउने प्रण गरेको छु ।’उनले भनिन् ।

क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तरगत रेडियो सुन्दै सिक्दै बझाङका विद्यार्थीहरु (फोटो – उमा भट्ट)

रेडियो कार्यक्रममा जीवनउपयोगी सीप अन्तरगत सामाजिक विभेद, विकृतीजन्य विषयलाई कानुन र व्यवहारसंग जोडिएकाले उनीहरुमा समाज परिर्वतनमा भूमिका खेल्न सकिन्छ भन्ने भावना जागृत भएको छ । बझाङकै शर्मिला सार्कीलाई पनि त्यस्तै लागेको छ । प्रोजेक्टमा सहभागी बनेपछि दैनिकीमै फेरबदल आएको उनको भनाई छ ।

विशाल पराजुली, रुपन्देहीको शान्ति नमूना माविमा पढ्छन् । रेडियो कार्यक्रमको माध्यमबाट नै निर्णय क्षमता, सकारात्मक सोच, लैङिगक समानता र असमानता लगायतका विषयमा प्रष्ट भएको उनी बताउछन् ।

लैङिगक समानता तथा सामाजिक समावेशीकरणका लागि कोरोना प्रभावित विद्यार्थीको सिकाईलाई निरन्तरता दिनका लागि शुरु गरिएको क्विक इम्प्याक्ट प्रोजेक्टले ७ महिनाको अवधिमा विद्यार्थीको व्यवहारमा उल्लेख परिर्वतन ल्याएको शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाहरु बताउछन् ।

खोटाङ हलेसीका नविन चाम्लिङ, सरस्वती माविमा कार्यरत छन् । उनी भन्छन्, ‘रीड नेपालको कार्यक्रम छोटो अवधिको भएपनि विद्यार्थीमा राम्रो छाप परेको पाएको छु । लकडाउनको अवस्थामा सिकाउने द्येयले रेडियो कार्यक्रम प्रसारण शुरु गरेपनि विद्यालय चलेको बेलामा पनि विहान बेलुका घरमा रेडियो सुन्दै सिक्दा शिक्षकहरुलाई समेत सहज भएको अनुभूति गरेको छु ।’ विद्यार्थीहरुमा सहकार्यको भावना जागृत हुनुका साथै उनीहरु आफू भित्रको क्षमता प्रर्दशनमा खुल्न थालेको शिक्षक चाम्लिङले बताए ।

रुपन्देहीका कुन्ती पौडेल अभिभावक हुन् । उनको छोरी पनि क्विक इम्प्याक्ट प्रोजेक्टमा सहभागी थिईन् । ‘मेरी छोरी बोर्डिङ स्कुलबाट सामुदायिक विद्यालयमा भर्ना भएको हुनाले नेपालीमा समस्या थियो । रेडियो कार्यक्रम नियमित सुन्न थालेपछि नेपाली बोलाई, लेखाईका साथै गणित, विज्ञान र आईसिटीको विषयमा धेरै परिर्वतन आएको छ ।’उनले भनिन् । जीवनउपयोगी सीपले उस्लाई सामाजिक बन्न सिकाएको अभिभावक पौडेलको भनाई छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्ष मणिराज राईले रेडियो सुनेर सिक्न सकिने कार्यक्रम निकै उपलब्धिमूलक भएको बताए । ‘कोरोना कहरको बिचमा वैकल्पिक सिकाईको माध्यम रेडियोबाट दैनिक पाठ्यक्रम र जीवनस.ग जोडेर ज्ञान र सीप दिनुले विद्यार्थीको सोचाईमा परिर्वतन ल्याएको महसुस गरेको छु ।’अध्यक्ष राईले भने ।

खिजिदेम्बा गाउँपालिकाकी उपाध्यक्ष शुशिला तामाङ रेडियोबाट सिकाई विद्यार्थीको लागि निकै महत्वपुर्ण भएको बताउछिन् । उनी भन्छिन्, ‘विद्यालय बन्द भएका कारण विद्यार्थीको सिकाईमा आएको अवरोधलाई रेडियो कार्यक्रमले सहज बनाएको पाएको छु । विद्यार्थीहरुले रुचीका साथ सिकेको पाएको छु ।’ किशोरी केन्द्रीत कार्यक्रमले उनीहरुलाई भविष्य देखाउन सफल भएको उपाध्यक्ष तामाङको भनाई छ ।

मुख्यतः किशोरीहरुको सक्रियताका लागि कतिपय रेडियो कक्षा क्षेत्रगत करियर काउन्सिलिङमा केन्द्रीत थियो । जसबाट उनीहरुले कुन क्षेत्रमा कस्तो संभावना, चुनौती छन् र करियर निर्माणको अवसरका बारेमा थाहा पाएका छन् । अहिले उनीहरु विद्यालयको अतिरिक्त क्रियाकलापमा अगुवाई गर्ने वा सरिक हुने, सामाजिक विकृतीको विरुद्धमा साहित्यीक सृजनामार्फत बोल्न थालेका छन् ।

समाजमा व्याप्त छाउपढी प्रथा, बाल विवाह, घरेलु तथा यौनिक हिंसा लगायतका विषयमा कानुन संग जोडेर सन्देश प्रवाहले विद्यार्थीहरुलाई चेतनशील बनाएको छ । कक्षागत तयार पारिएको अभ्यास पुस्तिका भर्ने बानीले उनीहरुको सिकाईलाई अझ दिगो बनाएको पाईन्छ ।

भाईवहिनीहरु, नेपाली समाजमा छोरा र छोरीलाई गर्ने व्यवहारमा केही परिर्वतन देखिएपनि पुरापुर समान व्यवहार, अवसर र पहूँचमा भेदभाव छ । यस्ता विभेदलाई घटाउदै लैजानु आजको आवश्यकता हो भने तपाई हाम्रो दायित्व हो । क्विक इम्प्याक्ट परियोजनाको सफल कार्यान्वयनका लागि बधाई दिदै पत्रकार तथा महिला अधिकारकर्मी सहनशिला शर्मा भन्नुहुन्छ, आगामी दिन भाईवहिनीहरुका लागि ७ महिनासम्म सिकेका कुरा व्यवहारमा लागू गर्ने समय हो । परिर्वतनका लागि लागि परौ ।

मेरो रेडियो पाठशाला, मेरो भविष्य सुन्दै सिक्दै रुपन्देहीका विद्यार्थीहरु (फोटो – शालु थापा)

के भन्छन्, सरोकारवाला ?
पत्रकार तथा महिला अधिकारकर्मी सहनशिला शर्मा रेडियो कार्यक्रम मार्फत उठाएका विषय र प्रवाह गरिएका सन्देशले समाज परिर्वतनमा भूमिका खेल्ने बताउछिन् । उनी भन्छिन्, ‘सिकाईको छोटो अवधि सकिएपनि सिकेका कुरा व्यवहारिक बनाउने दिन शुरु भएको छ । विद्यार्थीले जबसम्म ज्ञान र सीपलाई व्यवहारत उतार्ने कोशिस गर्दै तबसम्म सिकाई सिकाई रहदैन् ।’

क्विक इम्प्याक्ट परियोजनाका लैङिगक समानता तथा सामाजिक समाबेशीकरण (जेसी) अडिटर मन्जु सिंह राणा भगवान गौतम बुद्धको भनाई उदृत गर्दै भन्छिन्, ‘जानेको कुरालाई व्यवहारिक बनाउन नसके नजाने सरह नै हुन्छ ।’ हरेक कक्षालाई लैङिगक समानता तथा सामाजिक समाबेशीकरण मैत्री बनाउने कोशिस जहिल्यै पनि गरेको राणाले बताईन् ।

वैकल्पिक सिकाई संगै लैङिगक समानता तथा सामाजिक समाबेशीकरणको मुद्धालाई विस्तार गर्ने मामिलामा ७ महिना निरन्तर लागेको क्विक इम्प्याक्ट प्रोजेक्टका टिम लिडर गीता सुवेदीको भनाई छ । ‘छोटो अवधिमा महत्वपुर्ण साथ र समन्वयका लागि सरोकारवालाहरुलाई धन्यवाद । अब, स्थानीय सरकार, विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय प्रशासन मिलेर लैङिगक समानता तथा सामाजिक समाबेशीकरणको मुद्धालाई संस्थागत गर्दै लैजानुपर्छ ।’

रीड नेपालका कार्यक्रम निर्देशक डिल्ली प्रसाद डोटेलले समुन्नत समाज निर्माणका लागि लैङिगक समानता तथा सामाजिक समाबेशीकरणको मुद्धालाई पनि नितिगत तहमा समावेश गर्नुपर्ने बताए । उनले भने, ‘हरेक विषयलाई जेसीको कोणबाट हेरेर कार्यान्वयन गर्ने बानीको विकासले मात्र समुन्नत समाज निर्माणमा भूमिका खेल्दछ ।’

रीड नेपालका कार्यकारी निर्देशक भिम बोगटी भन्छन्, ‘क्विक इम्प्याक्ट प्रोजेक्टले कोरोना कहरको बिचमा विद्यार्थीमा शैक्षिक उपलब्धि हासिल गर्न र व्यवहारिक रुपमा परिर्वतन हुन सहयोग पु¥याएको विश्वास व्यक्त गरे । ‘रेडियो कार्यक्रमको १४४ रेडियो कक्षाले धेरै विद्यार्थीले भविष्य लेख्न थालेका छन् । त्यो मेरो विश्वास हो ।’उनले भने ।

आइसि नेटका वरिष्ठ परामर्शदाता तथा जाईकाकी जेसी प्रतिनिधि हाना कोवायसी रेडियो कक्षाबाट सिकेका कुरालाई व्यवहारिक बनाउन र समाज परिर्वतनमा भूमिका खेल्न आग्रह गर्छिन् । ‘मलाई आशा छ, सिकेका कुरा विद्यार्थीहरुले व्यवहारमा उतार्नेछन् र समाज परिर्वतनमा भूमिका खेल्नेछन् ।’

क्विक इम्प्याक्ट प्रोजेक्ट ओखलढुंगाको खिजिदेम्बा र मोलुङ गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका, ताप्लेजुङको फक्त्तालुङ र श्रीजंगा गाउँपालिका, सिन्धुलीको कमलामाई नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र बझाङको तलकोट गाउँपालिका र जयपृथ्वी नगरपालिकामा कार्यान्वयन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार