दुबी रोग नभई सौन्दर्य समस्या हाे

  हिमाल समाचार
182 Shares

काठमाडाैँ- शरीरमा सेतो दाग भएर चिन्ता गर्ने युवतीहरू धेरै छन् । युवतीहरू मात्रै होइन युवादेखि बयस्कहरूमा पनि शरीरमा आउने सेतो दागले हीनताबोध गर्ने गरेका छन् । नेपालको जनसंख्याको करीब १० प्रतिशत मानिसमा सेतो दुबीको समस्या रहेको धुलिखेल अस्पतालका छाला तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णले बताए । उनका अनुसार सेतो दुबी फैलिने र नफैलिने गरी दुबई प्रकारका हुन्छन् । फैलिने सेतो दुबी शरीरको कुनै भागबाट शुरु भई विस्तारै शरीरभरि नै फैलन्छ भने, नफैली सेतो दुबी शरीरको कुनै भागमा मात्रै हुने गर्छ ।

दुबीले संसारको कुल १-२ प्रतिशत (१० करोड) जनसंख्यालाई प्रभावित गर्दछ। दुबी सरुवा रोग होइन। यो छोएर वा सङगै बसेर सर्दैन। दुबी आफैंमा वंशाणुगत रोग त होइन। तर दुबी भएका मानिसको परिवारमा अरुलाई पनि हुने भएकोले यसको वंशाणुगत आधार भने छ। २५ देखि ५० प्रतिशत दुबी भएको मानिसमा उसको परिवारमा अरुलाई पनि दुबी भएको पाइएको छ भने ६ प्रतिशतमा आफ्नो दाजु भाई दिदी बहिनीमा पनि दुबी भएको पाइएको छ । दुबी कपाल, मुख भित्र तथा यौनाङको झिल्लीहरु मा पनि हुन सक्छ।

दुबी रोग नभएर सौन्दर्य समस्या हो । यो भएको मानिसको औषत आयु पनि समान्य मानिसको जस्तै हुन्छ । दुबीको कारणले मानिसको ज्यान जाँदैन। दुबी भएको मानिसमा अटोइम्युन रोगहरु जस्तो कि थाइराइड, डाइबिटिजहरु हुने सम्भावना अरु मानिसमा भन्दा बढी हुन्छ। कुष्ठ रोगमा पनि सेतो सेतो धब्बाहरु आउने र कहिले काँही हेर्दा उस्तै भएता पनि यि दुई रोग धेरै भिन्न हुन्। कुष्ठ रोग किटाणुले हुने रोग हो। कुष्ठ रोगमा लाटो फुस्रो दाग हुने र समय मै उपचार नगरे अपङता समेत हुन सक्ने हुन्छ। तर दुबी बिल्कुल लक्षण नभएको र जटिलता नभएको समस्या हो ।
दुबी रोग होइन। यो केवल रङको भिन्नताले हुने सौन्दर्य समस्या हो। त्यसैले आजकै दिनबाट दुबी भएको मानिसलाई समाजिक भेदभाव नगरौं, अनौठो नजरले नहेरौं।

समान्य मात्रमा भिटामिन सी युक्त अमिलो खानाले एन्टिअक्सिडेन्टको काम गर्ने हुनाले झनै राम्रो गर्दछ। तर अत्यधिक सेवन गर्नाले भिटामिन सीले दुबीमा मात्र नभएर सामान्यतय पनि अक्सिडेटिव स्ट्रेस बढाएर हानी गर्न सक्छ।
माछामा पाइने ओमेगा ३ भन्ने तत्वले झनै राम्रो गर्दछ। दुध र माछासंगै खानाले असर गर्छ भन्ने कुनै वैज्ञानीक आधर अहिलेसम्म छैन ।

एन्टिअक्सिडेन्ट र भिटामिनयुक्त पौष्टिक आहार। जस्तै फलफूल्, हरियो तरकारी, नट्स खानाले केही मात्रामा दुबी कम गर्न वा बढ्न नदीन मद्दत गर्दछ ।

मदिरा, प्रशोधित मासु, धेरै गुलियो कुरा, ग्लुटेनयुक्त खानेकुराले केही मात्रामा बढाउने अनुमान छ । यद्यपी यो पूर्ण रुपले प्रमाणित भने भएको छैन ।

दुबी भएका बिरामी घाममा जाँदा पोल्ने समस्या हुने हुनाले उनीहरु घामबाट बच्न विभिन्न उपायहरु अपनाउने गर्दछन्। त्यसैले पछिल्लो अध्ययन अनुसार दुबी भएकाहरुमा छालाको क्यान्सरको जोखिम झनै कम देखिएको छ।

दुबीको उपचार चुनौतिपुर्ण मानिन्छ। विभिन्न उपचार बिधी (मल्हम, खाने औषधि, सेक्ने बिधी, रङ छोप्ने कस्मेटिक क्रिमहरु, सर्जरी)को प्रयोग गरेर यसको रोकथाम सम्भव छ। तर जम्मा १०-२० प्रतिशतमा मात्र यो पूर्ण रुपले निको हुन्छ। यससँग सम्बधित सामाजिक, मानसिक र मनोवैज्ञानिक पक्ष भने निकै गम्भीर छ। त्यसैले हमीले समाजमा यसबारे जानचेतना फैलाउन जरुरी छ।

दुबी भएको बिरामीले ध्यान दिनुपर्ने कुरा
१) घामबाट बच्ने (घामबाट बचाउने मेलनिन भन्ने कोषिकाको ह्रास हुनाले)
२) चोट पटक लाग्न नदिने (त्यस्तो ठाउँमा नयाँ धब्बा आउन सक्ने हुनाले)
३) रबर/ प्लास्टिकको जुत्ता वा चप्पलको प्रयोग नगर्ने। गर्नु परे मोजा लगएर मात्र गर्ने। (यसमा हुने केमिकलले गर्दा)
४) कपाल रंग्याउने केमिकलहरु, रबर्, किटनाषक, छाला सेतो बनाउने कस्मेटिक क्रिमहरुको अत्यधिक प्रयोग नगर्ने
५) कसिलो इलास्टिक भएको कपडा नलगाउने। प्लास्टिकको फिता भएको ब्रा नलगाउने
६) धेरै तनाब नलिने र यसलाई सहर्ष स्विकार्ने
७) पौष्टिक आहार खाने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार