प्रदेश १ का आर्थिक मामिला मन्त्री आङबो भेटेर मागियो १६ करोड ५० लाख बजेट

  हिमाल समाचार
728 Shares

सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका भित्रका अधुरा विकास निर्माण पुरा गर्नका लागि प्रदेश सरकार समक्ष आवश्यक बजेटको माग गरिएको छ । माप्य दुधकोशीका माओवादी नेताहरुले आफ्नो स्थानीय तहमा अलपत्र बनेका ठूला विकासका योजना पुरा गर्न आवश्यक बजेट विनियोजनका लागि प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोलाई भेटेर माग पत्र बुझाएका छन् ।

स्टार यूथ क्लबको स्थापना दिवसको अवसरमा सल्लेरीमा शुरु भलिबल प्रतियोगीता तथा सांगितिक साँझको उद्घाटन गर्न सल्लेरी आईपुगेका मन्त्री आङबोलाई माप्य दुधकोशीका माओवादी नेताहरुले योजना खुलाएर थप बजेटको माग गरेका हुन् ।

थुलुङ दुधकोशीको देउसा र माप्य दुधकोशीको जोड्ने गरि काय खेतमा निर्माणाधिन बेलिब्रिजका लागि दुई करोड २० लाख, दिप्लीघाट देखि यूङकु, दोभान, यूङदप, वाकु, वाप्सा, गुन्थले, ठानेखोला, जुभिङ, लाकुरी, न्याई हुदै खुम्बु पासाङल्हामु जोड्ने सडक निर्माणका लागि १० करोड, माप्य दुधकोशी ६ वाकुमा निर्माणाधिन चिण्डो लाईब्रेरीको लागि ५० लाख, माप्य दुधकोशी ४ डाँडाँगाउँमा महिला भवनका लागि ५० लाख, माप्य दुधकोशी १ जुभिङ स्थित सिंहदेवी खालिङ उत्थान समाजको भवन निर्माणको लागि ८० लाख, माप्य दुधकोशी २ स्थित भोकखोलामा पक्कि पुल निर्माणको लागि दुई करोड र माप्य दुधकोशी ७ हाँकुलामा संचालित हिमालय माविको भौतिक संरचना संरक्षण तथा पहिरो व्यवस्थापनका लागि ५० लाख बजेट प्रदेश सरकारसंग माग गरिएको छ ।

सोही अवसरमा स्टार युथ क्लबको तर्फबाट पनि आर्थिक मामिला मन्त्री आङबोलाई माग पत्र प्रदान गरिएको छ । हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुका अध्यक्ष गोम्बु शेर्पा, समन्वय समिति सचिव तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, प्रदेश कमिटी सदस्य तथा महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती लगायत माप्य दुधकोशी क्षेत्रका माओवादीका नेताहरुको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार