खोटाङमा कालाजारका बिरामी थपिए

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु – खोटाङमा थप दुई जनालाई कालाजार पुष्टि भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा थप दुई जना कालाजारका बिरामी भेटिएको नगर स्वास्थ्य शाखाले पुष्टि गरेको छ । नगर स्वास्थ्य शाखाको समन्वयमा जिल्ला अस्पतालले केसबेस सर्भिलेन्स कार्यक्रम अन्तरगत रगत परीक्षण गर्दा दुई जनालाई कालाजार देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिए ।

उनका अनुसार स्थलगत रुपमा सय जनाको रक्त नमुना सङ्कलन गरेर आरडीटी विधिबाट परीक्षण गर्दा दुई जनालाई कालाजार देखिएको हो । यसअघि गएको चैत दोश्रो हप्ता ९२ जनाको रक्त नमुना परीक्षण गर्दा एक जनालाई कालाजार लागेको पुष्टि भएको थियो । यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार सङ्क्रमितको सङ्ख्या ६ पुगेको छ ।

कालाजारबाट सङ्क्रमितलाई जनही दुई हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराएर जिल्ला अस्पताल पठाउने र निःशुल्क औषधि दिने प्रबन्ध मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ । बाहुनीडाँडामा कालाजारका बिरामी भेटिन थालेपछि त्यसबाट सङ्क्रमित बिरामीको पहिचान गर्दै उपचार गर्ने व्यवस्थाका लागि केस बेस सर्भिलेन्स कार्यक्रम राखिएको जिल्ला अस्पतालका डा. वैभव मल्लिकले बताए । बाहुनीडाँडाको विभिन्न बस्तीमा २०७७ साउनयता कालाजार देखा परेको हो । कालाजार भुसुनाको टोकाइबाट लाग्ने गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार