प्रदेश १ को नाम किराँत राख्न माग गर्दै प्रदर्शन

  हिमाल समाचार
7 Shares

प्रदेश १ को नाम किराँत राख्नुपर्ने माग गर्दै  विराटनगरमा मुख्यमन्त्रीको कार्यालय र प्रदेश सभाअगाडि प्रर्दशन भएको छ ।

किराँत राई यायोक्खाको नेतृत्वमा सोमबार दिउँसो प्रदेशको नामाकरण पहिचानका आधारमा किराँत हुनुपर्ने माग गर्दै राजधानी विराटनगरको रोडशेष चोकस्थित मुख्यमन्त्री कार्यालयअगाडि र देवकोटा चोकस्थित प्रदेश सभा भवनअगाडि बृहत् प्रदर्शन भएको हो ।  प्रदेशभरिबाट मोटरसाइकल र्यालीसहित राजधानी विराटनगर आएका पहिचान पक्षधरहरूले प्लेकार्ड र ब्यानरसहित नामाकरण किराँत हुनुपर्ने भन्दै प्रदर्शन गरेका थिए । उनीहरूले पहिचानलाई बेवास्ता गरेर प्रदेशको नामाकरण गरेमा हिंसात्मक विद्रोह हुन सक्ने चेतावनी पनि दिए ।

प्रदर्शनकारीहरूले प्रदेशका नामाकरण किराँत हुनुपर्ने माग गर्दै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र पनि बुझाएका छन् । योभन्दा पहिले पनि किराँत र लिम्बुवान पक्षधरहरूले पटक-पटक प्रदेशको नामाकरण पहिचानका आधारमा हुनुपर्ने माग गर्दै धर्ना दिने , जुलुस प्रदर्शन गर्ने र हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाइसकेका छन् ।

देशका सातमध्ये छ प्रदेशले आफ्नो नामाकरण गरिसके पनि प्रदेश १ ले अझै नामाकरण टुंगो लगाउन सकेको छैन । कार्यकाल अन्तिम भैसकेको र प्रदेश सभाको चालू अधिवेशन नै अन्तिम हुने भएकोले दलहरूले प्रदेशको नाम प्रक्रियामा लान सहमति जनाएपछि नामाकरणबारे प्रदेश १ मा संघर्ष चर्किन थालेको छ । ५ साउनमा लिम्बुवान पक्षधरहरूले पनि विराटनगरमा बृहत् प्रदर्शन गर्ने जनाएका छन् ।

प्रदेश १ मा मुख्य प्रतिपक्षी दल एमालेले कोसी , कांग्रेसले सप्तकोसी, माओवादी केन्द्रले किराँत, एकिकृत समाजवादी र जनता समाजवादीले पहिचानसहितको नामाकरण, संघीय लोकतान्त्रिक मञ्चले लिम्बुवान किराँत नामाकरण हुनुपर्ने माग गर्दै आएका छन् । प्रदेश १ मा हाल एमालेका ३९, कांग्रेसका २१ मओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३, लोकतान्त्रिक मञ्चको १ र राप्रपाको १ जना सांसद छन् ।

प्रदेशको नामाकरणमा सहमति जुटाउन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले ६ साउनमा सर्बदलीय बैठक बोलाएका छन् ।  संविधानअनुसार प्रदेशको नामाकरणका लागि दुईतिहाइ बहुमत चाहिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार