सोलुका ५२ प्रतिशत उम्मेद्वारले बुझाएनन् चुनावी खर्च विवरण

  हिमाल समाचार
175 Shares

सोलुखुम्बु – सोलुखुम्बुका ५२ प्रतिशत भन्दा बढी उम्मेद्वार तथा जनप्रतिनिधिहरुले चुनावी खर्च विवरण बुझाउन अटेर गरेका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका कुल उम्मेद्वारहरु मध्ये ५२.५४ प्रतिशतले तोकिएको समयमा खर्च विवरण पेश नगरेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी नेत्र घिमिरेका अनुसार कुल उम्मेद्वार ८०७ जना मध्ये ३ सय ८३ जनाले तोकिएको समय (गत जेष्ठ मसान्त)  भित्र विवरण पेश गरेका छन् भने ४२४ जनाले अटेर गरेका हुन् ।

सोलुदुधकुण्ड नगरपालिकामा १८९ उम्मेद्वार मध्ये ६९ जना, थुलुङ दुधकोशी गाउँपालिकामा १४४ उम्मेद्वार मध्ये ८९ जना, नेचासल्यानमा ९३ उम्मेद्वार मध्ये ४९ जना, सोताङमा ८० उम्मेद्वार मध्ये ५० जना, महाकुलुङमा ८० उम्मेद्वार मध्ये २९ जना, माप्यदुधकोशीमा ८५ उम्मेद्वार मध्ये ४१ जना, खुम्बु पासाङ ल्हामुमा ६२ उम्मेद्वार मध्ये २७ जना र लिखुपिकेमा ८५ जना उम्मेद्वार मध्ये २९ जनाले भने खर्च विवरण बुझाएका छन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ र स्थानीय तह निर्वाचन नियमावली २०७३ बमोजिम मत परिणाम घोषणा भएको ३० दिन भित्र विजयी तथा पराजित सबै उम्मेद्वारहरुले अनिवार्य रुपमा निर्वाचन खर्च पेश गर्नुपर्ने प्रावधान रहेको छ ।

निर्वाचन आयोगले गत जेष्ठ मसान्त सम्म समयसिमा तोकेपनि जिल्लाका निर्वाचित तथा पराजित उम्मेद्वारहरुले खर्च विवरण बुझाउन अटेर गरेको कार्यालयले जनाएको छ । खर्च विवरण पेश नगर्ने उम्मेद्वारहरुकोे नाम निर्वाचन आयोगमा पठाएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार