‘सोलुको शैक्षिक विकासमा रीडको भुमिका अतुलनीय’

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु : सोलुखुम्बुको शैक्षिक विकासका लागि गैरसरकारी संस्था रीड नेपालको भुमिका अतुलनीय रहेको सरोकारवालाहरुले बताएका छन् । आईतबार सोलुदुधकुण्ड नगरपालिकामा ‘गत आर्थिक वर्ष सञ्चालित कार्यक्रमको समिक्षा तथा चालु आर्थिक वर्षको कार्यक्रमबारे जानकारी प्रदान’ विषयक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यस्तो बताएका हुन् ।

गत आर्थिक वर्षमा कोभिडका कारण विद्यालयहरु बन्द भएको समयमा पनि विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन रीडले विभिन्न विकल्पहरु अवलम्बन गरेको, एकिकृत पाठ्यक्रम अनुसार शिक्षकहरुलाई तालिम प्रदान लगायतका विषयले शैक्षिक गुणस्तर माथि उकास्न राज्यलाई सहयोग मिलेको वक्ताहरुले बताएका छन् । जसकालाई रीड नेपालले मुख्य उपलब्धि मानेको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाको १०० वटा विद्यालयमा विभिन्न २५ वटा कार्यक्रम सम्पन्न गरेको रीडले जनाएको छ । जसमा कोभिड महामारीको समयलाई मध्येनजर गर्दै रेडियोबाट सिकाईदेखि विद्यार्थीहरुलाई रेडियो उपहार प्रदान लगायतका कार्यक्रम समावेश भएको शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

जसका लागि ६८ लाख रुपैयाँ खर्च भएको समिक्षा वैठकमा जानकारी गराइएको छ । यस्तै चालु आर्थिक वर्षमा जिल्लाको १९ वटा विद्यालयहरुमा विद्यार्थी सिकाई मुल्यांकन लागु गर्नुका साथै अघिल्लो वर्ष सुचारु भएका कार्यक्रमहरुलाई निरन्तरता दिने शिक्षा विकास संयोजक गिरीले बताए ।

कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङले रीड नेपालको शैक्षिक क्रियाकलापको प्रसंशा गर्दै सकेसम्म नगरपालिकाको सबै विद्यालयलाई समेटेर कार्यक्रम गर्न आग्रह गरिन् । पालिकाको शैक्षिक विकासमा जनप्रतिनिधि पनि उत्तिकै जिम्मेवार रहेकोले समन्वय गरेर अघि उनले बताइन् ।

नगरले शिक्षा क्षेत्रको आगामी कार्यक्रमहरु रीडसँगै समन्वय गरेर सन्चालन गर्ने भन्दै अन्य शैक्षिक गैरसरकारी संस्थाहरुसँगको कार्यक्रमलाई डुब्लिकेशन हुन नदिने गरी काम गर्ने उप्रमुख तामाङको भनाई थियो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कोपिला राईले विकासको मुख्य आधार नै शिक्षा भएकोले यसमा सबैको ध्यान जान जरुरी रहेको बताइन् । रीड नेपालको कार्यले सरकारको दायित्व पुरा गर्नमा मद्धत मिल्ने भन्दै उनले धन्यवाद दिइन् ।

साथै अनुगमन तथा मूल्याकंनको लागि विशेष संयन्त्र निर्माण गरिअघि बढ्दा प्रभावकारी हुने प्रमुख प्रशासकिय अधिकृत राईको सुझाव छ । यस्तै नगर शिक्षा सुपरिवेक्षक गोपालराज भुजेलले रीडले शिक्षा विकसको लागि प्रभावकारी समन्वयका साथ अघि बढिरहेकाले आगामी दिनमा पनि आवश्यक सहयोग र समन्वयका साथ अघि बढ्ने बताए ।

यस वर्ष पालिकाले संचालन गर्ने एकीकृत पाठ्यक्रम तालिम तथा विद्यालयलाई वितरण गर्ने विद्यार्थी सिकाइ मूल्याकंन फाराम वितरण लगायतका कार्यक्रम रीड नेपालसँग समन्वय गरि संचालन गर्ने बताए ।

सल्लेरी स्थित एक होटलमा भएको समिक्षा तथा योजना प्रस्तुत कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख  गान्धी माया तामाङ, प्रमुख प्रशासकिय अधिकृत कोपिला राई, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख खगेन्द्र श्रेष्ठ, शिक्षा सुपरिवेक्षक गोपालराज भुजेल, रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार