फाप्लु विमानस्थल मुख्य प्रवेशद्वार सञ्चालनको माग, बेवास्ता गरे प्राधिकरणमा तालाबन्दी गर्ने चेतावनी

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको फाप्लु वातावरण मैत्री टोल सुधार समिति सोलुदुधकुण्ड नगरपालिका ४ ले वर्षौदेखि उपयोगविहीन बनेको फाप्लु विमानस्थलको मुख्य प्रवेशद्वार प्रयोगमा ल्याउन माग गरेको छ ।

राज्यको करोडौँ लगानीमा निमार्ण गरिएको प्रवेशद्वार वर्षौदेखि उपयोगविहीन भईरहदा हवाई यात्रु भने असहज तवरबाट साँगुरो मार्ग प्रयोग गर्न बाध्य भएको भन्दै समितिले जतिसक्दो छिटो प्रवेशद्वार सञ्चालनमा ल्याउन माग गरेको हो ।

प्रवेशद्वार सञ्चालनमा ढिलाई गरिदा नागरिकले सास्ती खेप्नुपरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लुलाई आज (मंगलबार) मागसहितको ध्यानार्कषण–पत्र समेत बुझाइएको छ ।

मागको बेवास्ता गरेको खण्डमा नागरिक उड्ययन प्राधिकरणको कार्यालयमा तालाबन्दी गर्ने सम्मको चेतावनी दिइएको छ । उक्त माग तथा ध्यानार्कषण पत्रको बोधार्थ नेपाल नागरिक उड्ययन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिकालाई पनि दिइएको छ ।

सोलुदुधकुण्ड नगरपालिका ४ का वडाध्यक्ष युवास तामाङसहितको उपस्थितीमा मंगलबार बसेको टोल सुधार समितिको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्ष दोर्जी तामाङले जानकारी दिए । पहिलो चरणको कार्यक्रमलाई वेवास्था गरे थप शसक्त संर्घषको कार्यक्रम अघि बढाउने ध्यानार्कषण पत्र मार्फत चेतावनी दिइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको ८ करोड ७८ लाख रुपैयाँ लागतमा २०७७ सालमा निर्माण भएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौँदेखि प्रयोगमा आउन सकेको छैन ।

विमानस्थल प्रवेश मार्ग प्रयोगमा आउन नसक्दा यात्रुहरु साँघुरो मार्ग प्रयोग गर्न बाध्य छन् । मार्ग सञ्चालन नहुँदा टावरका कर्मचारी, सुरक्षाकर्मीसहित यात्रुहरु पनि साँघुरो मार्गबाटै ओहोरदोहोर गर्ने गर्छन्। बिरामीलाई धावनमार्गसम्म लैजाँदा बाटो साँघुरो भएकाले स्टेचर नै छिराउन गाह्रो हुने गरेको नागरिकको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार