सोलु दुधकोशी जलविद्युत आयोजनाको परिक्षण उत्पादन सुरु

  सुबास दर्नाल
385 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा निर्माणा सम्पन्न ८६ मेगावट क्षमताको सोलु दुधकोशी जलविद्युत आयोजनाले विद्युत परिक्षण उत्पादन सुरु गरेको छ । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाले आज (बुधबार)बाट विद्युत परिक्षण थालेको हो ।

थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चनमा मुख्य विद्युत गृह रहेको उक्त विद्युतले आजबाट सुरु गरेको परिक्षण केहि दिन सम्म जारी रहने सहास उर्जा कम्पनी लिमिटेडका जनसम्पर्क अधिकृत कैलाश निरौलाले बताए । यो आयोजना निजी क्षेत्रले निर्माण सम्पन्न गरेको सबैभन्दा ठूलो र देशको तेस्रो ठूलो आयोजना हो ।

आयोजनाको विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङ्ला स्थित लाम्माने सबस्टेसनमा जोडिनेछ । विद्युतगृहदेखि सबस्टेसनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

आयोजनाबाट वार्षिक ५२० गिागावाट घन्टा (५२ करोड युनिट) विद्युत उत्पादन हुनेछ । कम्पनीका अनुसार हिउँदमा १००.२७ गिगावाट घन्टा (१० करोड २ लाख ७० हजार युनिट) र वर्षामा ४१९.९३ गिगावाट घन्टा (४१ करोड ९९ लाख ३० हजार युनिट) विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट यसअघि २०७८ चैतबाट नै विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाई, उपकरण ढुवानी समस्यालगायतले तालिका सरेको कम्पनीले जनाएको छ ।

यो आयोजना सम्पन्न गर्न करिब ११ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक र १ अर्ब ५ करोड रुपैयाँ साधारण सेयरबाट जुटाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार