सोलुदुधकुण्ड बन्यो मकै बालीे बीमा गराउने मुलुककै पहिलो स्थानीय तह

  हिमाल समाचार
623 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका मकै बालीको बीमा गराउने मुलुककै पहिलो स्थानीय तह बनेको छ । देशमै पहिलो पटक सोलुदुधकुण्डले पालिका भित्रका सबै किसानले लगाएको मकै बालीको एकमुस्ट बीमा गराएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

नगरपालिकाले ११ वटै वडाका ३६ सय किसानले १ हजार ८० हेक्टर क्षेत्रफलमा लगाएका मकै बालीको बीमा गराएको प्राधिकरणका कार्यकारी निर्देशक राजु रमन पौडेलले बताए । सोलुखुम्बुमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत गराएको उक्त बीमाका लागि नेपाल सरकारले प्रदान गर्ने ८० प्रतिशत अनुदान बाहेकको बीमीतले बुझाउनुपर्ने २० प्रतिशत रकम नगरपालिकाले लगाई बीमा गरिदिएको हो ।

नगरपालिकाले एकमुस्ट १० लाख ५ हजार ७ सय २० रुपैयाँ भुक्तानी गरेको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले बताए । मकै बालीमा रोग, किरा तथा प्राकृतिक विपत्तीबाट हुँदै आएको क्षतिलाई नियन्त्रण गर्न चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमै व्यवस्था गरि कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख शेर्पाले बताए ।

नगरपालिकाले वडा नम्बर १,२ र ३ मा २÷२ सय जना किसानले लगाएको ६०/६० हेक्टर, वडा नम्बर ४ मा ३०० जना किसानको ९० हेक्टर, ५ मा २५० किसानको ७५ हेक्टर र ६ मा ३०० जना किसानले ९० हेक्टर क्षेत्रफलमा लगाएको मकैको बीमा गराएको छ । यस्तै वडा नम्बर ७ मा ४०० जना किसानले लगाएको १२० हेक्टर, ८ र ९ मा ४/४ सय जना किसानको एक सय २०/२० हेक्टर, १० मा ३५० किसानको १०५ हेक्टर र वडा नम्बर ११ मा ६०० किसानले लगाएको १ हजार ८० हेक्टर क्षेत्रफलमा खेती गरिएकोे मकै बालीको बीमा गराएको आइएमई जनरल इस्योरेन्स शाखा कार्यालय सोलुखुम्बुका प्रमुख खगेन्द्र बनले बताए ।

कृषि तथा पशुपन्छी बीमामा अत्याधिक दाबी पर्ने गरेको भएता पनि कृषकलाई हुने क्षति न्यूनिकरण गर्न कम्पनीको नाफा घाटालाई ख्याल नगरी मकै बालीको बीमा गरिएको प्रमुख बनको भनाई छ । उक्त मकै बालीको बीमालेख आज शुक्रबार जारी गरि नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नगरपालिका भित्रको मकै बालीमा रोग, किरा तथा हावाहुरी, असिनापानी लगायतका प्रकृतिक विपत्तीबाट क्षति भएमा ९० प्रतिशत सम्मको रकम बीमा बापत पाउने बिमक कम्पनीले जनाएको छ ।

हिमाली जिल्लाको यस पालिकाको अधिकांश क्षेत्रहरुमा मकै बाली हुने गरेको छ । तर वर्षेनी रोग किरा तथा प्राकृतिक विपत्तीबाट भएको क्षतिका कारण किसान निराश छन् । सोही विषयलाई ध्यान दिदै नगरपालिकाले बीमाको निति अघि सारेको बताएको छ । यस अघि जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेले पनि मकै बालीको बीमा गराएको छ । तर पालिका भरका मकै बालीको बीमा गराउनेमा भने सोदुधकुण्ड नगरपालिका मुलुककै पहिलो स्थानीय तह बनेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इस्योरेन्स हाल मर्जरको प्रकृयामा रहेकाले यहि बैशाख २७ गतेदेखि आइजीआई इस्योरेन्सको नामबाट एकिकृत सेवा सुचारु हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार