तल्लो सोलुको पर्यटन प्रवर्द्धनका लागि ‘ट्रेल म्याराथन’घोषणा

  हिमाल समाचार
483 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा आयोजना गरिने सर्वाधिक राशीकोे ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’घोषणा गरिएको छ । बुधवार रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा ३ लाख पुरस्कार राशी रहेको ट्रेल म्याराथनको घोषणा गरिएको हो । उक्त पुरस्कार राशी ट्रेल म्याराथनको इतिहासमा नेपालकै ठुलो पुरस्कार राशी मानिएको छ ।

मुन स्टार क्लबको वार्षिक उत्सवको अवसरमा आगामी अक्टोबर २१ तारिखमा आयोजना गरिने ट्रेल म्याराथन करिब ४३ किलोमिटर दूरीको हुनेछ । सोलुखुम्बुको तल्लो क्षेत्रमा खेलकुद तथा पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय ट्रेल म्याराथनको आयोजना गरिएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक चन्द्र बहादुर राईले जानकारी दिनुभयो ।

सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरी देखि सुरु हुने म्याराथन माप्य दुधकोशी गाउँपालिका २ बासाखाली माध्यमिक विद्यालय (खालीडाँडाँ)मा पुगेर विविध सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसहित समापन गरिने क्लबका अध्यक्ष भुवन सिं राईले बताउनुभयो ।

१६ वर्ष माथिका स्वदेशी तथा विदेशी महिला/पुरुष सहभागी बन्न सक्ने ट्रेल म्याराथनका शीर्ष तीन विजेतालाई क्रमशः ३ लाख, २ लाख र एक लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्त्वना ५/५ जना धावकलाई ५/५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । महिला र पुरुषतर्फको प्रतिस्पर्धा विजेतालाई समान पुरस्कारको व्यवस्था मिलाइएको छ ।

अक्टोबर २१ मै स्थानीय खेलाडीलाई विशेष प्रोत्साहन गर्ने द्येयले महिला÷पुरुष ‘मातृभूमि म्याराथन’को समेत आयोजना गरिने मुन स्टार क्लबका सचिव पूर्ण राईले बताउनुभयो । खुम्बु पासाङल्हमू गाउँपालिका १ खरिखोलादेखि सुरु हुने उक्त म्याराथन जुभिङ हुँदै खालीडाँडाँसम्म २१ किलोमिटरको रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार