हलेसी तुवाचुङ नगरपालिका : सेनेटरी प्याड वितरण, १४ जनालाई अपांगताको परिचय-पत्र

  हिमाल समाचार
364 Shares

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले छात्रालाई गाउँमै तयार पारिएको सेनेटरी प्याड वितरण सुरु गरेको छ ।

छात्रालाई निःशुल्क स्यानिटरी प्याड उपलव्ध गराउने नेपाल सरकारको कार्यक्रम अन्तरगत हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाबाट सेनेटरी प्याड वितरण सुरु गरिएको उपप्रमुख बिमला राईले बताईन् ।

सेनेटरी प्याड निःशुल्क वितरणका लागि संघीय सरकारबाट आर्थिक वर्ष २०७६/०७७ मा प्राप्त भएको १७ लाख ९५ हजारबाट गाउँमै स्यानिटरी प्याड उत्पादन गरेर छात्रालाई वितरण सुरु गरिएको हो ।

अन्तर्राष्ट्रिय अपांग दिवस एबं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बिहिबार डिकुवामा आयोजित कार्यक्रमको अवशरमा दाम्ली माबि, डिकुवा आभारभुत विद्यालय र कालिका आधारभुत विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

महिनावारी भएका समयमा पनि विद्यालय जाने र आफ्नो पढाईलाई निरन्तरता दिनका लागि सहयोग पु¥याउन छात्रालाई स्यानिटरी प्याड निःशुल्क वितरण सुरु गरिएको हो । सेनेटरी प्याड उपमेयर राईले हस्तान्तरण गरेकी छन् ।

११ वडा रहेका नगरपालिकाभित्रका विद्यालयमा कक्षा ७ देखि १२ सम्मका २ हजार २ सय छात्रालाई स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने तयारी गरिएको उपमेयर राईले बताईन् । महिनावारीकाक्रममा स्यानिटरी प्याडको अभावमा विद्यालय छुटाउन बाध्य छात्रालाई लक्ष्यीत गरेर नगरपालिका आफैले पनि गत वर्ष स्थानीय स्तरमै उत्पादित स्यानिटरी प्याड निःशुल्क वितरण गरेको थियो ।

सेनेटरी प्याड तयार पार्दा महिलालाई रोजगार

सेनेटरी प्याडका लागि संघीय सरकारबाट प्राप्त शसर्त बजेटबाट आवश्यक कपडा खरिद गरेर ल्याएर सेनेटरी प्याड तयार पारेर वितरण सुरु गरिएको हो । गाउँमै सेनेटरी प्याड तयार पार्ने कार्यक्रमले हिंसा पीडित चार जना महिलाले रोजगार पाएका छन् ।

सेनेटरी प्याड तयार पार्नका लागि ५ लाख छुट्याइएको थियो । सिलाई कटाई सम्वन्धी तालिम दिइएका हिंसा पिडित महिलालाई नै सेनेटरी प्याड तयार पार्ने काम दिइएको उपमेयर राईले बताईन् । हिंसा पीडित महिलालाले लकडाउनको अवधिमा सेनेटरी प्याड उत्पादन गर्ने काम पाएका थिए ।

‘नगरपालिकाका २२ सय छात्रालाई सेनेटरी प्याड वितरण गर्ने छौँ । महिनावारीकै कारण छात्राले कक्षा छोड्न नपरोस् । यसका लागि स्थानीय स्तरमै मापदण्ड अनुशारको प्याड तयार पारिएको छ,’ उपमेयर राईले भनिन्, ‘हिंसा पिडित चार महिलाले सेनेटरी प्याड तयार पार्ने रोजगार पाए । उनीहरुले लकडाउनको समयमा सेनेटरी प्याड तयार पारेका छन् ।’

स्थानीयस्तरमा उत्पादित प्याड बजारकाभन्दा सस्तो, प्रयोग गर्न सहज र संक्रमण नहुने भएकाले प्रभावकारी हुने जनाइएको छ । सेनेटरी प्याडको कपडा खरिद तथा उत्पादनकाक्रममा बचेको रकमबाड डिकुवाका विद्यालयलाई हिल ट्यांक र ह्याण्डवास वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

१४ जनालाई अपांगताको परिचय–पत्र

हलेसी तुवाचुङ नगरपालिकाले डिकुवाका १४ जना अपांगलाई अपांगताको परिचय–पत्र वितरण गरेको छ । अन्तर्राष्ट्रिय अपांग दिवसको अवशरमा बिहिबार १ जनालाई ‘क’ बर्गको, ४ जनालाई ‘ख’ बर्गको, ७ जनालाई ‘ग’ वर्गको र २ जनालाई ‘घ’ वर्गको परिचयपत्र वितरण गरिएको हो । उनीहरुलाई उपमेयर राईले अपांगताको परिचयपत्र वितरण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार