हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिममा मेलमिलाप केन्द्र विस्तार

  हिमाल समाचार
315 Shares

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको छ । स्थानीय विवादलाई मेलमिलापको माध्यमबाट गाउँमै मिलाउनका लागि नगरपालिकाको उपप्रमुख संयोजकत्वको न्यायिक समितिको पहलमा वडा कार्यालय दुर्छिममा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।

मेलमिलाप केन्द्र बुधबार हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले उद्घाटन गरेकी छन् । घर परिवार, छिमेकी तथा सामुदायभित्र आउने सानातिना बिवादलाई तालिम प्राप्त मेलमिलापकर्ताको सहयोगमा दुबै पक्षलाई सहमतिमा ल्याएर समुदाय स्तरमै विवाद समाधानका लागि मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।
गाउँमा देखा पर्ने विवादलाई गाउँमै हल गर्नका लागि मेलमिलाप कर्ताका रुपमा छानिएका स्थानीयलाई मेलमिलाप सम्वन्धी तालिम र जानकारी दिएपछि मेलमिलाप केन्द्रलाई औपचारिकता रुपमा उद्घाटन गरिएको हो ।

मेलमिलाप सम्वन्धी काम गर्न स्थानीय रेनुका राई, प्रतिमा राई, कुबेर राई र रोमबहादुर राईलाई मेलमिलापकर्ताको जिम्मेवारी दिइएको छ ।

मेलमिलापकर्तालाई स्थानीय सरकार सञ्चालन ऐन, न्यायिक समितिको कार्यविधि, विवाद दर्तादेखि हलसम्मका चरणका बारेमा जानकारी दिने पुस्तक तथा कागजात पनि प्रदान गरिएको उपप्रमुख राईले बताईन् । सामुदायिक मेलमिलाप केन्द्र सञ्चालनका लागि वडाध्यक्ष रमेश तिवारी संयोजक, वडा सचिव सदस्य सचिव र मेलमिलापकर्ता सदस्य रहेको मिलमिलाप समिति गठन गरिएको छ ।

सामुदायिक मेलमिलाप केन्द्र उद्घाटनकाक्रममा सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना दर्ता सुदृढिकरण सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा मंगलटारका वडाध्यक्ष रमेश राउत, बडहरेका वडाध्यक्ष किशोर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

यसअघि हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको थियो । मेलमिलाप केन्द्र क्रमशः नगरपालिकाका ११ वटै वडामा विस्तार गरिने उपप्रमुख राईले बताईन् ।

नगरपालिकाले एक वटा मुद्धा मिलाए वापत प्रति मुद्धा २ हजारका दरले रकम उपलव्ध गराउने व्यवस्था गरेको जनाएको छ । ‘अन्य वडामा पनि मेलमिलापको काम भइरहेकै छ तर अन्तरक्रिया सहित औपचारिकता दिन बाँकी छ,’ उपप्रमुख राईले भनिन्, ‘आगामी पुस १५ सम्ममा अन्तरक्रिया सहितको कार्यक्रम लिएर सबै वडामा पुग्ने छौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार