१० गीतकार नेता

  हिमाल समाचार
231 Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउनको समयमा लेखेको गीतले निकै चर्चा पायो । जेठ तेस्रो साता त उनले रचना गरेको गीतको एल्बम नै निस्कियो । ओलीमात्रै होइनन्, नेपाली राजनीतिमा सक्रिय धेरै नेताहरू कला–साहित्य रचनामा रुचि राख्छन् । त्यसमध्ये गीत विधा एक हो । यहाँ गीत विधामा कलम चलाउने नेताको चर्चा गरेका छौँ ।

प्रधानमन्त्री ओली

‘समृद्ध नेपाल, खुसी नेपाली’ प्रधानमन्त्री ओलीले रचना गरेको गीतको एल्बम हो । सो एल्बममा प्रधानमन्त्री ओलीको ‘स्वदेशमै रोजगारी स्वदेशमै बास, रोजिँदैन प्रवास’ बोलको गीत पनि समेटिएको छ । उनले २०७२ चैतमा आफ्नो पहिलो गीत लेखेका थिए ।

राष्ट्रिय सेवा दलको कार्यक्रममा जङ्गीअड्डा भद्रकाली पुगेका ओलीले त्यहाँ बजेको गीत मन नपरेपछि आफैँ गीत रचना गरेको उनीनिकट नेताहरू बताउँछन् । उनले सोही कार्यक्रममा ‘म मेरो देश बनाउँछु’ गीतको भावसमेत सुनाएका थिए ।

त्यसको दुई वर्षपछि राष्ट्रिय सेवा दलको १३ औँ दीक्षान्तको अन्तिममा प्रधानमन्त्री ओलीको सोही गीतमा नाचकला प्रस्तुत गरिएको थियो । उनी गीत लेख्नमात्र होइन, तबला र बाँसुरी पनि बजाउँछन् ।

झलनाथ खनाल

राजनीतिक वृत्तमा गीत–संगीतका पारखीको पहिचान बनाएका नेता हुन्, पूर्वप्रधानमन्त्री झलनाथ खनाल । २०७५ चैतमा ‘परिवर्तनका स्वर भाग–२’ गीति एल्बम सार्वजनिक गर्दै खनालले आफू राजनीतिक व्यक्ति भए पनि परिवर्तनका लागि गीत लेख्ने गरेको बताएका थिए ।

साहित्यमा जेएन खनालको नामले परिचित उनको यो दोस्रो गीति एल्बम हो । उनको पहिलो गीति एल्बम ‘परिवर्तनका स्वरहरू ’ २०६५ सालमा सार्वजनिक भएको थियो । सो एल्बममा रहेको ‘मातृभूमि नेपाल हाम्रो’ गीतमा खनालले अभिनयसमेत गरेका छन् । पछिल्ला वर्षमा राजनीतिमा खासै व्यस्त नरहेका खनाल आफ्नो समय गीत, संगीत र साहित्यमा खर्चिरहेका छन् ।

प्रगतिशील गीत लेख्न रुचाउने खनाल घरमा दोहोरी गीत पनि मज्जाले सुन्छन् । दुई एल्बम सार्वजनिक भए पनि उनले डायरीमा सयभन्दा धेरै गीत लेखिसकेका छन् । खनाल सानैदेखि गीत–संगीतमा रुचि राख्थे ।

कमल थापा

पूर्व उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापा कुशल गीतकारका रूपमा चिनिन्छन् ।

राजेश हमालको पहिलो फिल्म युगदेखि युगसम्मको चर्चित गीत ‘तीन पाते डाँडा काटेर’ का रचनाकार थापा नै हुन् । उनले गीति एल्बम पनि निकालेका छन्, ‘मेरो प्यारो नेपाल’ ।

यो एल्बम २०७५ साल फागुनमा विमोचन भएको थियो । त्यस्तै, राप्रपाका लागि थापाले ‘राष्ट्रवादी पार्टी हाम्रो राप्रपा’ लेखेका थिए । ‘शुभकामना नयाँ वर्ष, नयाँ जीवनलाई’ बोलको उनको गीतलाई पनि धेरैले मन पराएका छन् ।

यो गीत प्रत्येक नयाँ वर्षमा रोजाइमा पर्ने गर्छ ।

प्रदीप ज्ञवाली

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली साहित्यमा साहित्यमा ‘शीतबिन्दु’को नामले परिचित छन् ।

उनका उपन्यास, कथा, कविता र गीति एल्बम सार्वजनिक भइसकेका छन् । २०७६ बैशाखमा उनले रचना गरेको ‘अट्टालिका’ बोलको गीत बजारमा आएको थियो ।

देशभक्ति र प्रेमभावपूर्ण गीत लेख्न रुचाउने ज्ञवालीका ‘सहरहरूसँग एउटा प्रश्न सोधिरहेछ गाउँ’ र ‘ओ मेरी प्रिया’ गीत चर्चित छन् । ‘आस्था ओ मेरी प्रिया’ ज्ञवालीले २०५२ सालमै लेखेको कविता हो ।

यसलाई हालसालै गीतमा ढालिएको छ ।

भीम रावल

पूर्व उपप्रधानमन्त्री एवं नेकपा नेता भीम रावल पनि गीत लेख्छन् । २०७६ बैशाख १ गते प्रज्ञा प्रतिष्ठान नेपालमा भएको एक कार्यक्रममा उनको गीत ‘नौलो साल उदायो’ गुञ्जिएको थियो ।

कविता संग्रह प्रकाशित गरेका रावलले गीति एल्बम भने सार्वजनिक गरेका छैनन् । तर, उनले थुप्रै गीत डायरीमा लेखेर राखेका छन् । २०७५ भदौमा टुँडिखेलमा आयोगित गौर पर्व कार्यक्रममा रावलले ‘देशभक्ति फुल्दै रहोस्’ बोलको गीत सुनाएका थिए ।

२०३३ सालमा राजकाज मुद्दामा जेल परेपछि रावलले जेल जीवनमै गीत र कविता लेख्न थालेका हुन् । यो क्रम आजसम्म पनि रोकिएको छैन । एउटा ‘पर्खेर बस्दा’ बोलको र अर्को निर्वाचनका बेला प्रचारप्रसारका लागि गाएको गीत संगीतसहित सार्वजनिक भएको नेता रावलले साप्ताहिकलाई जानकारी दिए ।

लकडाउनको समयमा पनि उनले गीत लेखिरहेका छन् । उनी भन्छन्, ‘मैले थुप्रै गीत लेखेको छु । राजनीतिक व्यस्ततामा कारण एल्बम नै निकाल्न भने सकेको छैन ।’ उनी कुनै दिन गीति एल्बम निकाल्ने सोचमा छन् ।

विश्वप्रकाश शर्मा

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रचना गरेको गीत ‘आऊ माया गरौँ’ चैत दोस्रो साता सार्वजनिक भयो । गीतमा मौसम परिवर्तन र परिवर्तनका कारण आउने समस्याबारे जुध्न प्रेरित गरिएको छ ।

शर्माले कांग्रेसको राष्ट्रिय जागरण अभियानमा समेत गीत लेखेका थिए । सो गीत नेपालमा बोलिने विभिन्न १२ भाषामा लेखिएको थियो । उनी आफ्नो गीतमा संगीत पनि भर्छन् । ८ वर्षअघि नेपाल जेसिसको ‘देश’ एल्बमदेखि आफ्नी छोरीको नाममा निकालिएको ‘स्वीकृति’ एल्बमका रचना पनि शर्माकै हुन् ।

शर्माका अनुसार उनले हालसम्म करिब ५० गीत लेखेका छन् । नेपाल संगीत विद्यालयमा भर्ना भएर संगीत सिकेका शर्मा आत्मसन्तुष्टिका लागि गीत लेख्ने बताउँछन् । साथै उनी मानिसले बोल्न नसकेका कैयौँ कुरा गीत–संगीतले बोल्ने र गीत भनेको सुख र दुःखको सारथी पनि भएको तर्क गर्छन् ।

शर्मा स्कुल पढ्दादेखि नै गीत, कविता र गजल लेख्ने गर्थे । रमाइलो त के छ भने उनले लेखको गीतमा उनकी श्रीमती कविताले स्वर भर्छिन् । कविता पनि संगीतकी साधक हुन् ।

प्रदीप नेपाल

पूर्वमन्त्री एवं नेकपा नेता प्रदीप नेपाल पनि साहित्यमा उत्तिकै सक्रिय छन् । उनले केही गीत पनि लेखेका छन् । नेपालले भूमिगत कालमा थुप्रै गीत लेखेर आफैँ गाएका थिए ।

गीति एल्बम ननिकालेको भए पनि २४ वटा गीत गायनका लागि दिएको उनले जानकारी दिए । त्यसमध्ये केही गीत सार्वजनिक भइसकेका छन् भने केहीमा संगीत भर्ने काम भइरहेको छ । ‘मेरो प्राथमिकतामा गीतभन्दा साहित्य लेखन पर्ने हुँदा त्यतातिर बढी समय खर्चन्छु’ नेपाल भन्छन्, ‘गीतचाहिँ साथीहरूको आग्रहमा लेख्ने गर्छु ।’ उनलाई मन पर्ने आफ्नै गीत भने ‘भोजपुर वन्दना’ हो ।

उनले यो गीत २०५७ सालमा भोजपुरबाट काठमाडौं फर्किएपछि लेखेका थिए । उनको ‘पश्चिम फाँट धरधरी रोयो’ बोलको गीत पनि चर्चित छ ।

प्रभु साह

पूर्वमन्त्री एवं हालका सांसद प्रभु साह भोजपुरी गीत लेख्छन् । साहले गत वर्ष सार्वजनिक भएको ‘हमनिके भगिया’ नामक भोजपुरी गीतको परिकल्पना गरेका थिए । उनले हालसम्म ३ वटा गीति एल्बमसमेत निकालिसकेका छन् ।

‘मधेस के माटी’, ‘अवकाश सुतुव’ र ‘मोहरमारिय’ नामक गीति एल्बम भोजपुरी समुदायमा चर्चित छन् । ‘मधेस के माटी’ २०७१ सालमा सार्वजनिक भएको थियो । उनले जनयुद्धकालमा गीत लेखन सुरु गरेका हुन् । जुन क्रम हालसम्म पनि चलिरहेको छ ।

केशव झा

राजनीतिमा सक्रियताका कारण संगीत क्षेत्रमा ओझेलमा परेका व्यक्ति हुन् केशव झा । जनता समाजवादीका नेता झाले २०५५ सालमा दाङमा र ०५७ सालमा काठमाडौं आएर संगीतको कक्षा लिए । २०६० सालसम्म उनले मैथिली भाषामा थुप्रै गीत लेखे ।

अहिले लेखनमा भन्दा गायनमा उनको लगाव बढी छ । राजनीतिमा व्यस्त हुन थालेपछि उनी लेखनभन्दा पनि गायनमा रमाउन थालेका छन् । २०७२ सालमा नेपालको संविधान जारी हुँदा २९ दलीय गठबन्धनको रिले अनसन (२०७३ जेठ) मा झाले ‘तिमी लड या नलड म त लडिरहन्छु’ बोलको गीत गाएर हौसला बढाउने काम गरेका थिए । यो गीतका रचनाकार पनि झा आफैँ हुन् ।

उनले भने, ‘यो गीत बजारमा ल्याउने सोचेको थिएँ । एकता प्रक्रियाका कारण आजभोलि निकै व्यस्त भएको छु । सबै काम सकिएर आराम भएपछि पक्कै यो गीतमा संगीत भरेर सार्वजनिक गर्नेछु ।’

मणि थापा

नेकपा नेता मणि थापा राजनीतिका साथै गीत–संगीतको क्षेत्रमा पनि चर्चा कमाउने नेतामध्येका एक हुन् । माओवादी युद्धकालमा उनले थुप्रै गीत लेखेका थिए, जो त्यतिबेला निकै चर्चित पनि थिए । जेठ पहिलो साता उनले लेखेको ‘शहरले गाउँ धपाउँछ’ बोलको गीत सार्वजनिक भएको छ ।

बाल्यकालदेखि नै गीत–संगीतमा रुचि राख्ने थापाले २०३८ सालमा रचना गरेको ‘फोकल्याण्डको टापुबाट’ बोलको गीत जनयुद्धकालमा निकै चर्चित थियो, जसमा जीवन शर्माले स्वर दिएका छन् । उनको सबैभन्दा चर्चित गीत भने ‘अरुण तरेर नाना तमोर तरेर’ हो । उनले लेखेका गीतको सोलो एल्बम ‘गाथा’ सार्वजनिक छ ।

श्रमिक र मजदुरको पक्षमा प्रगतिशील सिर्जना रचना गर्न रुचाउने उनले फिल्म दशगजामा ‘जाऔँ साथी स्वदेश’ र फिल्म भिमदत्तमा ‘वारी डाँडा’ गीत लेखेका छन् ।

विप्लव

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पनि गीतकार हुन् । उनले २०५४ सालमा पहिलो पटक लेखेको गीत ‘रगतै बग्यो नि, बर्खेनी भेल सरी’ गीतले त्यतिबेला चर्चा बटुलेको थियो ।

उनले लेखेका ‘तुफानमा जिउने सागरको माझी’, ‘जागै बस साथी’, ‘क्रान्तिकारीको विचार सही’ ‘यो शासन थेग्न कठिन छ साथी’ गीतहरू क्रान्तिकारी वृत्तमा चर्चित छन् । २०७२ सालमा विप्लवले लेखेको ‘कसले बनायो दाजै उडी जाने बस’ बोलको गीतले पनि चर्चा पायो ।

सामाजिक–राजनीतिक परिवेश, विषयवस्तु र घटनाक्रममा आधारित भएर गीत लेख्न रुचाउने उनी हाल अर्धभूमिगत जीवन बिताइरहेका छन् । तथापि उनको गीत संगीतप्रतिको रुचि नघटेको उनीनिकट नेताहरू बताउँछन् । साप्ताहिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार