मध्य हुँगा ‘ए’ फागुनदेखि निर्माणमा जाँदै

  हिमाल समाचार
112 Shares


सोलुखुम्बु-
२२ मेगावाटको मध्य हुँगा खोला ‘ए’ जलविद्युत आयोजनाको निर्माण आगामी फागुनदेखि सुरु हुने भएको छ । एपेक्स मकालु हाइड्रोपावर कम्पनीले सोलुखुम्बुमा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो । यसअघि दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजना निर्माण गर्ने समूहले यो आयोजनामा लगानी गर्न लागेको हो ।

सिप्रिङको प्रवद्र्धक सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सहायक कम्पनीमार्फत आयोजना निर्माणमा जान लागेको कम्पनीका अध्यक्ष विष्णु अघिकारीले बताए । उनका आयोजनामा बैंकले गर्ने लगानीको टुंगो लागेपछि आयोजनाको संरचना निर्माणको काम सुरु हुनेछ । उनले आयोजनामा ऋण लगानी जुटाउन विभिन्न बैंक तथा वित्तीय संस्थासँग अन्तिम चरणको परामर्श भइरहेको बताए । आयोजनामा सानिमा बैंकको अगुवाईमा ३ अर्ब २७ करोड रुपैयाँ लगानी गर्ने सहमति जुटिसकेको पनि अधिकारीले जानकारी दिए ।

माघ महिनाभित्र बैंकसँग सहमति गरी ऋण लगानी सम्झौतामा हस्ताक्षर गर्ने कम्पनीको तयारी छ । कूल लागतको ६० प्रतिशत बैंकको ऋण लगानी हुनेछ । ४० प्रतिशत स्वपुँजी (१ अर्ब ९ करोड रुपैयाँ) लगानी हुनेछ । आयोजनाको वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेको छ ।

वातावरणीय अध्ययन पूरा भएपछि विद्युत विकास विभागबाट उत्पादन अनुमति लिएर निर्माण सुरु गरिने कम्पनीले जनाएको छ । आयोजनासम्म पुग्ने पहुँच सडक निर्माण भइसकेको छ । आयोजना पुरा भएपछि उत्पादित विद्युत सोलु कोरिडोको तिन्ला सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक २५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

-तस्बिर: महाकुलुङ हुगां क्लवको फेसबुकबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार