सेयर बजारबारे बुझेर आईपिओ भर्नुहोस्!

  हिमाल समाचार
994 Shares


काठमाडौं-
आईपिओ अगाडी सेयर बजारको बारेमा केही बुझ्नुहोस् ।

सेयर के हो ?

तपाईहरुलाई जानकारी नै छ कुनै पनि ठूलो कम्पनी ज्ञसंञ्चालन गर्नको लागि सानो पुँजीले पुग्दैन । दुई चार जनाको पैसाले मात्रै पनि नपुग्न सक्छ । वा चलिरहेको कम्पनीलाई क्षमताबृद्धि (अपग्रेड) गर्नुपरो, कुनै नयाँ योजना ल्याउनुपरो त्यसको लागि पैसा पर्याप्त नहुन पनि सक्छ । उदाहरणको लागि तपाई हामी मिलेर एउटा ठूलो ग्यास स्टेशन खरिद गर्न वा निर्माण गर्न खोजेको आफूसँग भएको पैसाले छेउ पनि भेटेन साथीभाई छर–छिमेकीबाट पैसा उठाउनुपर्यो भने त्यसको एउटा मापदण्ड बनाईन्छ । र, स्टोरको पुजी र स्वामित्व पनि बाँडफाँड गरिन्छ ।

यसरी कम्पनीमा पैसा र स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताबाट पैसा उठाउने व्यवस्थित र आधिकारीक प्रक्रिया नै स्टक (सेयर) हो । कम्पनीको पुँजीको विभाजित इकाइको बनाईने दस्तावेज नै सेयर प्रमाण हो । कम्पनी सुरु गर्नेहरु र सञ्चालन भईसकेपछि सर्वसाधरणहरुसँग पैसा उठाईने सेयरको प्रकार फरक फरक हुनसक्छ । सेयरलाई नेपालीमा धितोपत्र पनि भनिन्छ । नेपालमा गत वर्षबाट मात्रै हटाईयो नत्र यो कागजमै हुन्थ्यो अमेरिकामा भने डिजिटल छ । निष्कर्षमा तपाईले सेयर लिनु भनेको त्यो कम्पनीको स्वामित्व लिनु हो । सानो वा ठूलो हिस्सा अनुसार कम्पनीको स्वामित्व धारण गर्नु नै सेयर खरिद गर्नु हो ।

सेयर बजार भनेको के हो ?

माथि दस्तावेजको बारेमा कुराकानी गरियो । यस्तो दस्तावेजको किनबेच हुन्छ । यो किनबेच हुने बजारलाई चाँही सेयर बजार भनिन्छ । (नेपालमा तरकारीको किनबेच हुने तरकारी बजार, अमेरिकामा ग्रोसरी स्टोर भनेजस्तै) बजार भनेपछि बजारमा कसरी किनबेच हुन्छ भन्ने त सबैलाई जानकारी नै छ ।

तपाईसँग भएको कम्पनीको दस्तावेज तपाईलाई बिक्री गर्न मन लाग्यो अझ अर्को अर्थमा तपाईलाई पैसाको आवश्यक पर्यो, कम्पनी मन परेन वा कम्पनीले धेरै नाफा गरेर निकै ठूलो मुल्यवान कम्पनी बन्यो र सेयरको माग ह्वात्तै बढेर भाउ निकै उच्च भयो नाफा खान मन लाग्यो वा अरु केही कारणले तपाईले आफूसंग भएको हिस्सा अरुलाई दिन मन लाग्यो भने यस्तो दस्तावेजको खरिद विक्री हुने बजार नै सेयर बजार हो ।

यस्तो खरिद विक्री गर्न सघाउने कम्पनीहरु छन् उदाहरणको लागि अमेरिकामा न्यूयोर्क स्टक एक्सचेन्जलगायतका छन् भने नेपालमा नेपाल स्टक एक्सचेन्ज । विभिन्न कम्पनीको तपाईहामी जस्तै सर्वसाधरणसँग भएको लगानी दस्तावेजको तथ्याङ्क यस्तो एक्सचेन्ज कम्पनीले राख्छन् । र, कारोबार समयमा सेयर कारोबार गराउँछन् । अमेरिकामा साताको पाँचदिन सोमबारदेखि शुक्रबारसम्म ९ः३० बजेविहानदेखि साँझ ४ बजेसम्म सेयर कारोबार हुन्छ ।

ब्रोकर भनेको के हो ?

नेपालमा स्टक ब्रोकर भनेको सुन्नुभएको होला जसलाई धितोपत्र व्यवसायी पनि भनिन्छ । ठेट नेपालीमा दलाल भनेको पनि सुन्नुभएकै होला । लगानीकर्ता र कम्पनीबीचको पुलको काम गर्ने निकायलाई ब्रोकर भनिन्छ । जस्तो तपाईले अमेरिकामा घर कन्दा सिधै किन्ने र बेच्नेले कारोबार गर्न नपाएको जस्तै सेयर बजारमा पनि मध्यस्तकर्ताको आवश्यकता पर्छ त्यो काम गर्ने निकाय स्टक ब्रोकर हो । अब त कुरो बुझ्नुभयो होला मध्यस्तकर्ताबिना तपाईले सीधै सेयरको कारोबार गर्न पाउनुहुने छैन ।

साधारण सेयर (आईपीओ) भनेको के हो ?

मानौं तपाईहरु केही व्यक्ति मिलेर कुनै एक कम्पनीको स्थापना गर्नुभयो तर पैसाले पुगेन भने निश्चित मापदण्डको आधारमा सर्वसाधरणबाट पैसा संकलन गर्न पाउनुहुने छ । यसरी सर्वसाधरणबाट पैसा संकलन गर्न पहिलोपटक जारी गरिने प्राथमिक सेयर साधारण नै सेयर हो । पहिलोपटक सार्वजनिक गरिने सेयर साधारण सेयर हो भने त्यसपछि कारोबार हुने सेयर दोस्रो बजारको सेयर हो ।

सेयरमा लगानी गर्ने वित्तिकै फाईदा हुन्छ ?

कुनै ज्ञारेन्टी हुँदैन । त्यसैले तपाईसँग जगेडा पैसा मात्रै सेयर बजारमा लगानी गर्नुहोस् । भनेको कम्तीमा छ महिना एक वर्षसम्म आवश्यक पर्दैन भन्ने लागेको पैसा मात्र सेयर बजारमा लगानी गर्ने हो । किनभने सेयर बजारमा गरेको लगानी आजको भोलि ह्वात्तै बढ्दैन यसको प्रतिफलको लागि केही समय कुनुपर्ने हुन्छ । ऋण लिएर सेयरमा लगानी गर्नुभएको हो भने थोरै फाईदा भएको बेलामा बेचिदिनु राम्रो हुन्छ तर ऋण लिएर सेयरमा लगानी गर्नु बुद्धिमानी होईन । कतिपय अवस्थामा कम्पनी घाटामा पनि जानसक्छ ।

सेयरमा लगानी गरेवापत सेयरधनीहरुले प्रत्यके वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांश प्राप्त गर्ने गर्दछन् । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश सेयर हो त्यसैले तपाई कम्पनीको नाफाको मात्र होईन घाटाको पनि उत्तिकै हिस्सेदार हुनुहुने छ । मैले २० डलरमा किनेको अहिले ५ डलर भयो यो अन्याय भयो भनेर तपाईले कही कतै गुनासो गर्ने निकाय हुँदैन किनभने २० को ४० हुँदा पनि तपाईकै हो र ५ डलर हुँदा पनि ।

सुरक्षित हुन कसरी गर्ने लगानी ?

पहिला तपाईले सेयर किन्न लागेको (लगानी गर्न लागेको) कम्पनीको सम्पूर्ण विषयमा जानकारी लिनुहोस । वित्तीय, संस्थागत तथा बजार अवस्थासहित सम्पूर्ण बित्तीय अवस्था हेर्नुहोस । अमेरिकामा तीन तीन महिनामा कम्पनीहरुले वित्तीय विवरण प्रकाशित गर्छन् । नाफा घटेको, प्रति सेयर आम्दानी घटेको कम्पनीको सेयर खदि गर्नु अगाडी सोच्नुहोस् ।

अर्कोकुरा कुनै कम्पनीको सेयर एक्कासी उच्च विन्दुमा पुगेको छ भने पनि त्यो अवस्थामा सेयर नकिन्नुहोस किनभने संस्तोमा सेयर किनेकाहरुले बेचिरहेका हुन्छन् र माग भन्दा आपूर्ति धेरै भएपछि अर्थसास्त्रको सामान्य सिद्धान्तअनुसार नै मुल्यमा गिरावट आउँछ नै । सस्तोमा सेयर किनेर बसेकाहरुले भाऊ बढेको बेलामा बेच्छन् भन्ने कुरा सेयर बजारमा आफूले पनि गर्ने र अरुले पनि गर्छन् भन्ने विर्षन भएन ।

आईपीओ भर्नका लागि तपाईले यसरी सक्नुहुनेछ ।

१. बैंक खाता

आईपीओ भर्नका लागि सबै भन्दा पहिला तपाईंलाई आवश्यक पर्ने भनेको बैंक खाता हो । बैंक खाता नभई तपाईंले यसपछिका प्रक्रियाहरु अघि बढाउन सक्नु हुन्न । बैंक खाता जुनसुकै बैंकको भए पनि हुनेछ । तपाईंसँग बैंक खाता छैन भने बैंक खाता खोल्ने र छ भने तपाईले यसपछिको प्रक्रियाहरु हेर्नुस् ।

२. डिम्याट खाता खोल्ने

बैंक खाता भए पछि तपाईंले डिम्याट खाता खोल्नु पर्ने हुन्छ । डिम्याट खाता भनेको सेयर राख्ने खाता हो । बैंकमा पैसा राख्नका लागि बैंक खाता खोलेजस्तै सेयर राख्नका लागि डिम्याट खाताको आवश्यकता पर्छ । डिम्याट खाता खोल्नका लागि मर्चेन्ट बैंक (क्यापिटल)मा सम्पर्क गर्नुपर्ने हुन्छ । सबै मर्चेन्ट बैंकहरु बैंकहरुकै सहायक कम्पनी भएका कारण तपाईंले खाता भएकै बैंक वा अन्य जुनसुकै बैंकमा गएर पनि डिम्याट खाता खोल्न सक्नुहुनेछ ।

३. मेरो सेयर

डिम्याट खाता खोलिसकेपछिको प्रक्रिया भनेको मेरो सेयर सुविधा लिने हो । मेरो सेयर सुविधामार्फत तपाईंले घरमै बसेर आईपीओ भर्न सक्नुहुनेछ । डिम्याट जहाँ खोल्नु भयो त्यहिँ तपाईंले मेरो सेयरको एउटा फारम भर्नुभयो भने तपाईको इमेलमा युजर आईडी र पासवर्ड प्राप्त हुन्छ । मेरो सेयर सुविधा नलिने हो भने तपाईले बैंकमा गएर पनि आईपीओ भर्न सक्नुहुनेछ ।

मेरो सेयर सुविधा लिएमा भने तपाईंले आईपीओ भर्नका लागि बैंकसम्म पुग्नु पर्दैन । यसका लागि तपाईंले सीआस्वा -सीआरएन) दर्ता भने गर्नु पर्ने हुन्छ । बैंकमा गएर सीआरएनको एउटा फारम भरेर बुझाए तपाईलाई बैंकले सीआरएन नम्बर दिनेछ । त्यो नम्बर तपाईंले सुरक्षित राख्नुपर्छ ।

यसपछिको प्रक्रिया

‘मेरोसेयरडटसीडीएससीडटकमडटएनपी‘ खोलेर वा मोवाइलमा मेरो सेयर एप डाउनलोड गरेर युजर आईडी राख्र्नुपर्छ । तपाईंलाई इमेलमा उपलब्ध भएको पासवर्ड अब परिवर्तन गर्नु पर्नेहुन्छ । आफूले चाहेको पासवर्ड राख्नुपर्छ ।


तपाईंलाई पुनः ४ अंकको पिन कोड बनाउनु पर्नेछ । आफ्नो इच्छा अनुसार चार अंकको पिन कोड राख्ने ।

यति भएपछि तपाईंको ‘मेरो सेयर’ खुल्नेछ । त्यसपछि ‘माई आस्वा’ ब्लकमा क्लिक गरिसकेपछि करेन्ट इस्यु, अप्लाई फर इस्यु, एप्लिकेसन रिपोर्ट र ओल्ड एप्लिकेशन रिपोर्ट लेखिएको देख्नुहुनेछ ।

‘अप्लाइ फर इस्यु’मा क्लिक गरेपछि कुन कम्पनीको आईपीओ खुलेको छ, त्यहाँ देखिनेछ । जस्तो अहिले ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ खुलेको छ । ग्रीनलाईफ लेखेको छेउमा अप्लाई भन्ने अप्सन छ, त्यहाँ क्लिक गर्नुस् ।

अब तपाईंले बैंक छान्नुहोस् । बैंक छानेपछि बैंक शाखा र खाता नम्बर आफै आउँछ । अब तपाईंको इच्छा अनुसार ‘अप्लाई कित्ता’ गएर कति कित्ता भर्ने हो लेख्नुस् । भर्न चाहेको कित्ता राखेपछि आफैं रकम देखाउछ । रकम भन्दा तल बैंकबाट लिएको सीआरएन नम्बर राख्नुहोस् ।

त्यहाँ शर्त राखिएको हुन्छ । टिक लगाएर प्रोसेस्ड गरेपछि चार अंकको पिन नम्बर माग्छ । त्यो पिन नम्बर हालेर ‘ओके’ गरेपछि तपाईंको आईपीओ स्वीकृत भएको संकेत त्यहिँ आउनेछ । तपाईंले आवेदन दिएको बारे ‘एप्लिकेसन रिपोर्ट’ भन्ने अप्सनमा गएर हेर्न सक्नुहुनेछ ।

यो सामाग्री क्लिकमाण्डु र अनलाइनखबरको सहयोगमा तयार पारिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार