कोरोना भाइरसको उत्पत्तिबारे डब्लूएचओको प्रतिवेदन के छ ?

  हिमाल समाचार
91 Shares

काठमाडाैँ-विश्व स्वास्थ्य संगठनले चिनियाँ ल्याबबाट नै कोरोना भाइरस फैलिएको हाे भन्ने निष्कर्षमा पुग्न थप अनुसन्धानको आवश्यकता भएको जनाएको छ ।
विश्व स्वास्थ्य संगठनको विशेषज्ञ टोलीले १४ जनवरी देखि १० फेब्रुअरीसम्म चीनको वुहान शहरमा गएर कोरोना भाइरसको अनुसन्धान गरेको थियो । त्यही टिमले मंगलबार एक रिपोर्ट जारी गर्दै चीनको तर्फबाट विशेषज्ञको टोलीलाई आवश्यक तथ्यांक नमिलेको उल्लेख गरेको छ ।
अध्ययन टोलीमा १७ जना चिनियाँ र विभिन्न मुलुकका १७ जना विज्ञ सहभागी थिए ।

विशेषज्ञ टोलीका अनुसार कोरोना भाइरस चमेरोबाट मान्छेमा सरेको हुनसक्ने सम्भावना धेरै छ । विश्व स्वास्थ्य संगठनका प्रमुखले चिनियाँ प्रयोगशालाबाट भाइरस फैलिएको कुरालाई सिधै नकारेका छैनन् । तर त्यही हो भनेर एकिन गर्नको लागि थप अनुसन्धानको आवश्यकता पर्ने बताएका छन् ।

विश्व स्वास्थ्य संगठनको याे भनाइमा चीनले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको उत्पत्तिबारे अहिले नै निष्कर्षमा पुग्ने बेला नभएको बताएका छन् ।

मंगलबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसको उत्पत्तिबारे अझै गहन अध्ययन आवश्यक रहेको बताएका हुन् ।
उनले भने ‘चिनियाँ प्रयोगशालाबाट कोरोना फैलिएको हो भन्ने कुरा सत्य हुने सम्भावना निकै कम रहेको छ । बिना गहन अध्ययन यसका बारेमा केही भन्नु ठीक हुँदैन ।’ उ, ‘यो रिपोर्ट महत्वपूर्ण छ तर यो अन्त्य होइन । हामीले भाइरसको स्रोत पत्ता लगाउन सकेका छैनौँ ।’

डब्लूएचओले मंगलबार कोरोना भाइरसको उत्पत्तिबारेको अध्ययनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो । १२० पेज लामो प्रतिवेदनमा कोरोना भाइरस जनावरबाट मानिसमा सरेको बताइएको छ । चमेरो र सालकले कोरोना सारेको हुन सक्ने प्रारम्भिक अध्ययनमा बताइएको छ ।

डब्लूएचओको प्रतिवेदनमा फार्ममा पालिएको जंगली जनावर कोरोना भाइरस सार्ने प्रमुख स्रोत भएको हुन सक्ने सम्भावना बलियो भएको बताइएको छ । तर कोरोना भाइरसको उत्पत्तिको स्रोत मानिएको चमेरोले कुन जनावरलाई संक्रमित बनायो भन्नेचाहिँ अध्ययनमा खुल्न सकेको छैन । चमेरोबाट कुनै जनावरमा सरेर त्यसपछि मानिसमा कोरोना भाइरस सरेको हुन सक्ने प्रतिवेदनमा जनाइएको छ ।

अमेरिका,बेलायत ,क्यानडा, जापान, नर्वे, डेनमार्कलगायतका विभिन्न १४ मुलुकले भने डब्लूएचओको प्रतिवेदनमा प्रश्न उठाएका छन् । त्यस्तै युरोपेली युनियनले पनि कोरोना भाइरसको उत्पत्तिबारे अझ अनुसन्धान हुनुपर्ने र त्यो स्वतन्त्र हुनुपर्ने बताएको छ ।

अमेरिकासहितका मुलुकले निकालेको संयुक्त वक्तव्यमा आगामी दिनको अध्ययनमा अझै पारदर्शी, प्रमाण तथा तथ्यांकसहितको रिपोर्ट आओस् भन्ने चाहना रहेको बताएका छन् । त्यस्तै अमेरिकाले डब्लूएचओलाई पर्याप्त जानकारी नदिएको भन्दै चीनको आलोचना गरेको छ । चीनले भने आफ्नो प्रयोगशालाबाट कोरोना फैलिएको भन्ने आरोप आधारहीन र झूट भएको बताउँदै आएको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पत्तिबारे अमेरिकाको नागरिकले यससम्बन्धी राम्रो सूचनाको अपेक्षा गरेको बताएका छन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकी भन्छिन् –‘विश्व समुदाय, बिरामीका ज्यान बचाइरहेका स्वास्थ्यकर्मी कोरोना उत्पत्तिबारेमा अझ पारदर्शी अध्ययन चाहन्छन् ।’
स्राेत-अनलाइन, तस्विरमा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार