रेकर्ड बनाउँदै नेप्से,बजार परिसूचक २७५९ अंकको ऐतिहासिक उचाइमा

  हिमाल समाचार
42 Shares

काठमाडौं- आज सोमबार २०.७१ अंकले बढेर नेप्से २७५९.२२ अंकको नयाँ उचाइमा पुगेको छ । सेयर बजारले आइतबारको रेकर्ड तोड्दै सोमबार नयाँ रेकर्ड बनाएको हो ।

बजारमा लगातार दोस्रो दिन पनि उच्च रकमको कारोबार भएको छ । आइतबार १० अर्ब ४० करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम केही घटे पनि ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ । १ करोड ९० लाख ५६ हजार २३६ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

निषेधाज्ञाले गर्दा व्यापार–व्यवसाय ठप्प हुँदा व्यापारीहरुको बजारमा सक्रियता बढ्दा बजारमा परिसूचक र कारोबार रकम पनि उचालिएको हो । निषेधाज्ञाले सुरुमा केही त्रसित देखिएका लगानीकर्ता विस्तारै कोभिड–१९ नियन्त्रणमा आउने संकत देखिएसँगै बजारमा सक्रियता बढाएको धितोपत्र दलाल व्यवसायी नरेन्द्र सिजापति बताउँछन् ।

आज नेप्सेमा होटेल, विकास बैंक र उत्पादनबाहेकको सबै उपसूचकमा हरियाली देखिएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.५ प्रतिशतले वृद्धि हुँदा अन्य उपसूचक सर्वाधिक २.६३ प्रतिशत र हाइड्रोपावर उपसूचक २.५२ प्रतिशतले बढेको छ ।

यता, विकास बैंक उपसूचकमा ०.०२ प्रतिशतको सामान्य गिरावट हुँदा उत्पादन उपसूचक ०.७२ प्रतिशत र होटेल तथा पर्यटना उपसूचक ०.३९ प्रतिशतले बढेको छ ।

नेप्सेसँगै ‘क’ वर्गका कम्पनीहरुलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४.४५ अंकले बढेर ४९२.५८ अंकमा बन्द भएको छ ।

आज नेप्सेमा ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोस्रो बजारमा कारोबार सुरु भएदेखि नै लगातार सकारात्मक सर्किट लाग्दै आएको रुरु जलविद्युत् कम्पनीमा आज पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ८८ रुपैयाँले बढ्दा ९६८ रुपैयाँ पुगेको छ ।

त्यस्तै, समता घरेलु लघुवित्त, राधी जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुराँस लघुवित्त, बरुण हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, नेपाल फाइनान्स रिडी जलविद्युत् कम्पनी र खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यता, विशालबजार कम्पनी, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स, ज्योति विकास बैंकको सेयर मूल्य करिब २ प्रतिशतले गिरावट भएको छ । आज नेप्सेमा कारोबारमा आएका ११२ कम्पनीको सेयर मूल्य बढेको छ । ५६ कम्पनीको सेयर मूल्य घट्यो भने १४ कम्पनीको स्थिर रह्यो ।

नेप्सेमा आज सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको ६६ करोड १ लाख ८२ हजारको सेयर कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ४२ करोड ६९ लाख ९० हजारको कारोबार भएको छ । यस्तै, शिखर इन्स्योरेन्सको ३१ करोड ७९ लाख ३५ हजारको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार