वीपी प्रतिष्ठानका कर्मचारीकाे आन्दोलन झन् चर्को

सुनसरी- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको उच्चस्तरीय समिति गठन गरी छानविन गर्न चिकित्सक र कर्मचारीले माग गरेका छन् ।

प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपुर्ति लगायतका शिर्षकमा प्रतिष्ठानका पदाधिकारीहरूले व्यापक भ्रष्टाचार गरेको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरूले प्रधानमन्त्री समक्ष छानविनको माग गरेका छन् ।

प्रतिष्ठानका पदाधिकारीहरू आर्थिक अनियमिततामा संलग्न हुन थालेपछि प्रतिष्ठान आर्थिक संकटमा परेको भन्दै चिकित्सक र कर्मचारीहरुले प्रतिष्ठान सुधारको माग गर्दै तीनदेखि आन्दोलनमा उत्रिएका छन् । चिकित्सकहरूले चालेको आन्दोलनमा प्रतिष्ठानका कर्मचारीहरूले समेत सर्मथन जनाएपश्चात बिहीबारदेखि आन्दोलन झन् चर्को भएको छ ।

आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरूले प्रतिष्ठान सुधारको माग गर्दै बिहीबार धरान बजारमा विरोध प्रर्दशन गरेका छन् । प्रतिष्ठानमा उपकुलपति डा। ज्ञानेन्द्र गिरी र रजिष्ट्रार डा। मोहनचन्द्र रेग्मीको आगमनपछि बेथिती बढेको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । प्रतिष्ठानमा भएको सबै आर्थिक अनियमितताका घटनाको छानविन गरी दोषीउपर कडा कारबाही नभएसम्म आन्दोलनलाई जारी राख्ने चिकिच्सकहरूले चेतावनी दिएका छन् ।

प्रतिष्ठानको फ्यागल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा। विष्णु पखरेलले प्रतिष्ठानमा भएको भष्ट्राचारको उच्चस्तरीय समिति गठन गरी छानविन गर्न प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओली समक्ष माग गरेका छन् ।

राजनैतिक नियुक्ति लिएर आएका पदाधिकारीले प्रतिष्ठान सही ढङ्गले सञ्चालन गर्न नसकेकाले प्रतिष्ठानको भविष्यमाथि नै प्रश्न उठेको सोसाइटीका महासचिव डा। सूर्यप्रसाद रिमालले बताए। प्रतिष्ठानमा भएको भ्रष्टाचारको विरोध गर्दा उपकुलपतिले डा। गिरीले उल्टै चिकित्सक र कर्मचारीलाई धम्की दिँदै अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार