आज फूलपाती

  हिमाल समाचार  232 पटक हेरिएको

सोलुखुम्बु –‘अनि घर कहिले आउने त ?’ यो प्रश्न दसैँको पूर्वसन्ध्यामा खुब सोधिन्छ । हामीहरूमध्ये धेरै फूलपातीका दिन आइपुग्छु भन्ने धेरै हुन्छौं । यस दिनबाट बिदा शुरु हुन्छ । अनि यस दिनबाट चाहिँ दसैँको चाडबाडको मस्ती पनि शुरु हुन्छ ।

पोहोर साल कोरोना भाइरस त्रासले दसैँलाई एकलास बनाएको थियो । यस वर्ष अलिक खुकुलो हुँदै छ । फूलपातीको शुभकामना ।

कोसेलीपात अनि दसैँको उपहारका किनमेलहरू भए त ? बैङ्कले नयाँ छापेको नोटहरू दसँैमा टिकाटालोका लागि काठमाडौंबाट आफ्नो थातथलो जानेले लगिदिने चलन पनि छ हैन त ? जे होस्, दसैँले कहिले नयाँ लुगाको बहानामा त कहिले घोर्ले खसी–बोकाको बहानामा, कहिले घर जाने रौनक त कहिले देशका हरेकजसो स्थानमा प्रमुख दुर्गा भवानीका मठ–मन्दिरहरूमा नौरथा (नवरात्री) अवधिभर लाग्ने मेलाले सबैको जीवनमा रङ्ग र उत्साह छरेको छ, कि कसो ?

अझै यो वर्ष पनि कोरोना महामारी विश्वबाट विदा भइसकेको छैन । त्यसो हुँदा अझै महान चाड मनाईरहँदा सचेत अनि सावधान हुनुपर्ने अवस्था भने पक्कै छ ।

कतिजना भने परदेशमा गएको वर्षको दसँै सम्झना गर्दै बसिरहनुभएको पनि होला । औँला भाँच्दै कति वर्षदेखि दसैँमा घर जान नपाएको र अब कति वर्ष या महिनापछि घर जाने भनेर पनि बस्नुभएको कति प्रवासी नेपाली हुनुहुन्छ ? यो दसैँमा घर आउन नपाए पनि के भयो र । अर्को दसैँया अर्को वर्ष तपाइले स्वदेशी माटोमा पाइला राख्न अवश्य आउनुहुनेछ, कि कसो ?

आज सबै जनालाई हाम्रो पात्रोमार्फत् नवरात्रिको सातौं दिन फूलपाती सम्बन्धमा विशेष यी शब्द सामाग्रीहरू लगायत गाउँबेसीका यादहरू बोकेर आईयो है साथीहरू ।

सप्तमीको यो विशेष दिनलाई ‘फूलपाती’ भनिन्छ । यो दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात् कालो वर्ण भएकी, तीन नेत्र अनि चार हात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वास फेर्दा आगो ओकल्ने यिनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पुर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् ।

आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरापात अनि विभिन्न प्रकारका फूलपात समिश्रित ‘फूलपाती’ भित्र्याइन्छ । यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

आजको यस विशेष सातौं दिन दुर्गाको सातौँ स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

कालरात्रि स्तूती मन्त्र ।।
या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।

अर्थातः
कालरात्रि देवीकी रूपमा सर्वत्र विराजमान माता अम्बे !
म तपाईंलाई कोटी–कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।।

नेपाल एकीकरणपश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाउँहरूमा रहेका महत्वपूर्ण शक्तिपीठहरूमा पु-याउने चलन थियो । नेपाल एकीकरणदेखि नै एकता र सांस्कृतिक प्रतीक गोर्खा जिल्लासँग नेपालीको पहिचान जोडिएको छ । तसर्थ, गोरखाको फूलपाती विशेष हुने गर्दछ । काठमाडौंको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ्ग जिल्लाको जीवनपुर हुँदै भित्र्याइने चलन थियो ।

लोकतन्त्र आगमनपछि यो एतिहासिक चलनलाई निरन्तरता नदिए पनि थोरै फूलपाती भएपनि मोटरसाइकलमा काठमाडौंसम्म ल्याइने गरिएको स्थानीय बताउँछन् । गोरखा दरबारमा अवस्थित गोरखकाली मन्दिरमा जब आधा घाम अस्ताएको र आधा घाम देखिने समय हुन्छ तबमात्र फूलपाती भित्राउने चलन छ ।

फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरबारका कर्मचारीहरू सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती संकलन गर्न निस्किन्छन् । यसरी सङ्कलन गरी ल्याइएको फूलपाती अघिल्लो दिन नै साँझमा गोरखकाली मन्दिरबाट अलि तल सतीपिपल भन्ने पीपल चौतारीमा राख्ने चलन छ ।

उक्त फूलपातीलाई विशेष मौलिक सिङ्गारपटार गरेर, झकीझकाउँका अर्को चौतारीमा ती फूलपातीलाई पर्सिने चलन छ । दरबारबाट आएका विशेष टोलीहरूले बाजागाजा अनि हर्ष बढाई गर्दै कलश यात्रा गरेर फूलपाती दरबार भित्राउने चलन छ ।

यस्तो शोभा यात्रामा प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका मुख्य प्रशासनिक क्षेत्रका प्रमुख अनि सुरक्षा निकायका प्रमुखहरू उपस्थित हुने चलन छ । यसरी गोर्खामा भेला पारिएको फूलपाती काठमाडौं ल्याएपछि नेपाली सेनाको एक टुकडीले टुँडिखेलमा तोपको सलामी दिने चलन छ ।

अर्कोतर्फ गाउँ–घरमा आजबाट औपचारिक रुपमा लिङ्गेपिङ हालिन्छ । खरको डोरी र टुप्पो नकाटिएको हरियो चार वटा बासलाई गाडेर बनाइने यो पिङ दसैँको अर्को रौनक हो । जुन सदियौंदेखि दसैँमा मनोरञ्जन गरिने एउटा मौलिक साधनको रूपमा प्रचलित छ ।

मान्छे चढेर मच्चिएपछि बाँसको टुप्पोबाट एकतमासको आवाज आउँछ । दसैँको यस विशेष अवधिमा एक पटक भएपनि भुँई छाड्नु भन्ने चलन छ । पिङ चढेका बखत भुई छोडिन्छ । पिङमा मच्चिउञ्जेल प्रकृतिको खुल्ला काखमा पन्छी झैँ स्वतन्त्र भई यो शरीरले स्वास भर्छ अथवा एउटा नियन्त्रित उडानको अनुभूत गर्छ ।

गाउँ–घरमा माहौल पक्कै पनि रोमाञ्चक छ । मुग्लान पसेका साथीभाई आफन्तजन, प्रियजन आफ्ना गाउँठाउँमा कत्तिको फर्केका छन् ? शहर बस्नेहरू पनि गाँउठाउँ फर्केका छन् कि छैनन् ? कत्तिका आमाबुवा, दिदी बहिनी, दाजु–भाईका मन हर्षले गद्गद् होलान् त कति प्रतीक्षाका आँखा ओछ्याइ पर्खिबसेका होलान् ।

छोराछोरी, बुहारी अनि नातिना लगायत तीन चार पुस्ता नै घरमा भेला हुन्छन् । लिपपोत गरिएको सफा काठले बनेको नेपाली टाँडेघरको रौनक वास्तवमै अतुलनीय छ । आजैबाट खसी बोका काट्ने तथा बलि कार्य प्रारम्भ भइसक्यो ।

चाडवाडहरू नभइदिएका भए हाम्रो जीवन कति निरश हुन्थ्यो होला ? चाडपर्वले जीवनलाई एउटा फरक उर्जारसले भर्ने गर्छ । यो दसँैपछि म यो गर्छु, त्यो गर्दिनँ भन्ने हाम्रा स्वप्रतिज्ञाहरू र योजनाहरू पनि छन् । दसँैले सबको इच्छा पूरा गरोस् । यो चाड सनातन हिन्दू मात्रको नभई तमाम नेपालीजनको हो, यसको मौलिक विशेषता भनेकै यही हो । तडक–भडक भन्दा पनि सामान्य जीवनशैली अनि असमान्य आत्मीयताका साथ चाड मनाउनुहोला । यो रमाइलो माहौलको शुभकामना ! जय होस् !!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार