थुलुङ दुधकोशी सरकार सडक मर्मत तथा सरसफाइमा केन्द्रित

  हिमाल समाचार
777 Shares

सोलुखुम्बु -सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले सडक मर्मत तथा सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । वर्षातको समयमा सडक पुरिने, भत्किने तथा अवरुद्ध हुने समस्या अत्याधिक हुनेभएपछि जेसिबी मेसिन र जनप्रतिनिधि तयारी अवस्थामा रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

पालिका भित्र संचालित कच्ची सडकको अवस्थाका बारेमा जानकार हुन र तत्काल गुनासो नआउने गरि सबै काम गर्न जनप्रतिनिधिलाई पालिका अध्यक्ष असिम राईले निर्देशन दिए ।

निरन्तरको वर्षातको कारण अवरुद्ध बनेको नेले– मुक्ली सडक खुलेको छ भने मुक्ली– रन्देपु सडक खुलाउने काम भइरहेको वडा नम्बर– ६ का वडा अध्यक्ष महेन्द्रदिप राइले बताए । लोखिम–जुबु क्षेत्रको सडक समेत ठाउँ ठाँउमा बिग्रदा आवतजावतमा समस्या भएको पालिकाले जनाएको छ ।

यस्तै देउसा–मुक्ली सडक खण्ड पनि अवरुद्ध भएको बताइएको छ । मुक्ली–रन्देपु सडक खुलाउने काम सक्ने बित्तिकै उक्त सडक सफा गरि सुचारू गरिने गाउँपालिकाले जनाएको छ । उता नेले–झरेनी–रोक्ती– बुडिडाडा–दिप्लिघाट खण्डको अवस्था भने सामान्य रहेको छ ।

यो सिजनमा बाढी तथा पहिरोको जोखिम उच्च भएकाले सचेत रहन पालिकाबासीलाई आग्रह गरिएको छ । जोखिमयुक्त क्षेत्रमा बसोबास तथा हिडडुल गर्दा सावधानी अपनाउनुका साथै कुनै समस्या भएमा तत्काल जनप्रतिनिधिलाई खबर गर्न पालिका अध्यक्ष राईले आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार