सोलुमा दर्ता भएका उद्योग मध्ये ७५ प्रतिशत कृषि तथा वनजन्य

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा दर्ता भएका उद्योग मध्ये ७५ प्रतिशत कृषि तथा वनजन्य रहेका छन् । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो ५ महिनामा दर्ता भएका ७४ वटा नयाँ उद्योग मध्ये ७५ प्रतिशत कृषि तथा वन रहेका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका ७४ उद्योग मध्ये ५६ वटा कृषि तथा वनजन्य, १४ वटा सेवा मुलक र ४ वटा उत्पादन मुलक छन् । कृषि क्षेत्रमा विभिन्न संघ संस्था तथा स्थानीय तहहरुले समेत अनुदान प्रदान गर्ने भएकाले उद्योग दर्ता गर्नेहरु मध्ये कृषि तथा वनजन्य बढी भएको हुन सक्ने कार्यालयको अनुमान छ ।

यद्यपी गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा समग्र उद्योग दर्ताको संख्यामा नै भारी गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो ५ महिनामा २०१ वटा उद्योग दर्ता भएकोमा चालु आर्थिक वर्षमा उद्योग दर्ता संख्या ७४ मा खुम्चिएको छ ।

चालु आर्थिक वर्षमा नविकरण ४३ वटा, नामसारी २ वटा, पुँजी वृद्धि ६ वटा, उद्देश्य थप २२ वटा, प्रतिलिपि ३० वटा र ६ वटा उद्योग खारेज भएको कार्यालयका उद्योग अधिकृत संगिता थुलुङ राईले जानकारी दिइन् । जसबाट २ लाख ४० हजार १५० रुपैयाँ राजस्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार