थुलुङ दुधकोशी बहु–प्राविधिक शिक्षालय प्रदेशकै सबै भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल

  हिमाल समाचार
1.9k Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी बहु–प्राविधिक शिक्षालय कोशी प्रदेशकै सबै भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने प्राविधिक शिक्षालय बनेको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्ली स्थित उक्त शिक्षालयले डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ तेश्रो सेमेस्टरमा ६५.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै प्रदेशकै सबै भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने प्राविधिक शिक्षालय बनेको हो । शिक्षालयको पहिलो व्याज अन्र्तगत तेश्रो सेमेस्टरमा सामेल ३६ जना विद्यार्थी मध्ये ६५.७९ प्रतिशत अर्थात २५ जना उत्तीर्ण भएका छन् ।

उक्त परिक्षामा राष्ट्रिय सेकेन्डरी स्कुल सुनसरी ५६.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै दोश्रो भएको छ । राष्ट्रिय सेकेन्डरीले ४६ जना विद्यार्थी मध्ये २६ उत्तीर्ण गराएको छ भने मनमोहन मेमोरियल पोलिटेक्निक मोरङ ४८.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउदै तेश्रो भएका छन् । मनमोहन मेमोरियलले ४८ जना परिक्षार्थी मध्ये २३ जना उत्तीर्ण गराएको परिक्षा बोर्डले जनाएको छ । कोशी प्रदेशमा सिभिल इन्जिनियरिङ विषय अध्ययन हुने २७ वटा शिक्षालय छन् ।

जसमा थुलुङ दुधकोशी बहु–प्राविधिक शिक्षालय जिल्लाकै पहिलो सिभिल इन्जिनियरिङ शिक्षालय पनि हो । यहाँ सोलुखुम्बुसहित ओखलढुंगा, खोटाङ, सुनसरीसहितका जिल्लाका विद्यार्थीहरु अध्ययनरत छन् । स्थानीय स्तरमै जिवन उपयोगी शिक्षा प्रदान गर्न थुलुङ दुधकोशी गाउँपालिकाले काम गरिरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

शिक्षालय स्थापना भएदेखि नै गुणस्तरिय शिक्षा प्रदान गराउनमा आफुहरु लागि परेकाले गुणस्तरलाई अझ बृद्धि गर्दै लैजाने अध्यक्ष राईले बताए । देउसाकी विद्यार्थी अस्मिता राईले गाउँमै गुणस्तरिय शिक्षा आर्जन गर्न पाएकोमा खुसी व्यक्ति गरिन् । विगतमा सिभिल इन्जिनियरिङ अध्ययन गर्न लाखौँ खर्च गरेर काठमाण्डौँ, पोखरा लगायतका शहरमा जानुपर्ने बाध्यता रहेपनि अहिले घरकै खाना खाएर सर्वसुलभ रुपमा गुणस्तरिय शिक्षा आर्जन गर्न पाएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार