बजेट संशोधनसहित सकियो महाकुलुङ गाउँपालिकाको हिउँदे सभा

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले १२ औँ गाउँ सभाबाट बजेट संशोधन गरेको छ । सोमबार पालिकाको सभा हलमा सम्पन्न १२ औँ गाउँ सभाले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ ।

अघिल्लो वर्षको खर्च हुन बाँकी रकम ३ करोड ८६ लाख ८९ हजार ३०८ रुपैयाँ र ससर्त अनुदान तर्फको ३ लाख ३५ हजार थप गरी ३९ करोड ७ लाख ५९ हजार ४०८ रुपैयाँ बजेट निक्यौल गरिएको छ । यसअघि ३५ करोड १५ लाख ३५ हजार एक सयको बजेट ल्याइएको पालिका अध्यक्ष सुर्य बहादुर कुलुङले बताउनुभयो ।

बजेट थपिएसँगै केही कार्यक्रम समेत थपघट गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो । सभामै चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये माघ अन्तिमसम्म २५.२१ प्रतिशत खर्च भएको प्रतिवेदन प्रस्तुत गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोलेका अनुसार चालुतर्फ ८ करोड ५ लाख १५ हजार ८४० रुपैयाँ र पूजीँगत तर्फ एक करोड ३६ लाख २८ हजार ८ सय ७६ रुपैयाँ खर्च भएको छ ।

सभामा उपाध्यक्ष बिपना कुलुङ, वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार