निर्मलको पोल्टामा ८ हजार मिटरमाथिका हिमाल ४४ पटक आरोहणको कीर्तिमान

  हिमाल समाचार
42 Shares

सोलुखुम्बु – पर्वतारोहण क्षेत्रमा विश्व रेकर्ड बनाउदै आएका निर्मल पुर्जा ८ हजार मिटरभन्दा अग्ला हिमालमा सबैभन्दा बढी पुग्ने आरोही हुनुभएको छ । उहाँले नयाँ वर्षका दिन शनिबार विश्वकै दशौं अग्लो हिमाल अन्नपूर्ण (८ हजार ९१ मिटर उचाइ) हिमाल आरोहण गर्नुभयो ।

विश्वकै अग्लो शिखर सगरमाथासहित संसारभरका ८ हजार मिटरमाथिका १४ वटा हिमालमा यो उनको ४४ औं आरोहण हो । निर्मल ८ हजार मिटरमाथिका हिमालमा सबैभन्दा धेरैपटक आरोहण गर्ने विश्वमै एक्ला आरोही हुनुभएको छ । उहाँ पछि दोस्रो स्थानमा सर्वाधिक ८ हजार मिटरभन्दा अग्ला हिमालमा सफल आरोहण गर्नेमा कामीरिता शेर्पा रहनुभएको छ ।

कामीरिताले २८ पटक सगरमाथा आरोहण गरिसक्नुभएको छ । सगरमाथाबाहेक कामीरिताले खुम्बु र तिब्बतको सीमामा पर्ने चोयू (८ हजार १ सय ८८ मिटर उचाइको विश्वकै छैंटौं अग्लो हिमाल) हिमाल आठ पटक, विश्वको चौथो अग्लो हिमाल ल्होत्से (८ हजार ५ सय १६ मिटर उचाइ) एक पटक र विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटू (८ हजार ६ सय ११ मिटर उचाइ) एक पटक गरी ३८ पटक विश्वका अग्ला चुचुरोमा पुग्नुभएको छ ।

म्याग्दी मूल घर भई हाल बेलायतमा बस्दै आउनुभएका निर्मल हाल नेपाली शेर्पा आरोहीसँगको साझेदारीमा इलाइट एक्सपिड नामको कम्पनीमार्फत पर्वतारोहण क्षेत्रमा कार्यरत हुनुहुन्छ । १६ वर्ष बेलायती सेनामा काम गरेका निर्मलले २०६९ पुसमा पहिलोपटक सगरमाथा आधारशिविरसम्म पदयात्रा गर्नुभएको थियो ।

त्यही वर्ष उहाँले पहिलो पटक ६ हजार १ सय १९ मिटर उचाइको लोबुचे हिमालबाट आरोहण यात्रा थाल्नुभएको थियो । १२ वर्षको छोटो अवधिमा ४४ पटक विश्वका अग्ला शिखरमा पुगेका र दर्जनौं रेकर्ड बनाउनुभएका उहाँले अबको बाँकी जीवन हिमाल आरोहणमै समर्पण गर्ने र तत्काल विश्राम लिने योजना नरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार