नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो

  सुवास दर्नाल
182 Shares

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि १० जना सैनिकसहित ११ जना सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।

१२ जना नेपाली सेना र १ जना शेर्पा सरदारसहित १३ जनाको टोलीमा दुई जना भने आपतकालिन जनशक्तिका लागि नाम्चेमै रहने रणशुर गुल्म नाम्चेका प्रमुख सेनानी प्रचण्ड बिक्रम भारतीले जानकारी दिनुभयो । “ दुई जना आपतकालिन उद्धार तथा समस्याका लागि नाम्चे ब्यारेकमै तयारी अवस्थामा छन्, बाँकी ११ जनालाई नाम्चे ब्यारेकले आज एक कार्यक्रमका बिच विदाई ग¥यौँ, यो टोली सगरमाथा बेस क्याम्पतर्फ अघि बढेको हो ।”

वैशाख २ गते सेनाको हेलिकप्टरमार्फत स्याङ्बोचे ओर्लिएका उक्त टोली दुई दिन नाम्चेको बसाईपछि बुधवार त्यहाँबाट प्रस्थान गरेका हुन् । सेनानी आदित्य कार्कीको नेतृत्वमा रहेको उक्त टोलीले अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तरसंवाद गर्दै करिब ७ दिनको पदयात्रा पश्चात् सगरमाथा आधार शिविर पुग्ने सेनानी भारतीले बताउनुभयो ।

पदयात्राको क्रममा सचेतना अभिवृद्धि तथा अभियानको प्रचार प्रसारको लागि पदमार्गको सरसफाइ समेत गरिनेछ । एन एन्डेवर टु सेभ द हिमालयज भन्ने मूल थीमका साथ सञ्चालन हुन गइरहेको यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको नेपाली सेनाले जनाएको छ ।

यस अघि गत बिहीबार जङ्गी अड्डामा आयोजित एक समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले क्याम्पेन लिडर सेनानी आदित्य कार्कीलाई झण्डा हस्तान्तरण गरी अभियानको थालनी गरेका थिए । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने सफा हिमाल अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार सङ्घलगायतका संघ संस्थाहरूको प्राविधिक सहयोग रहेको छ ।

सङ्कलित फोहरहरू मध्ये सड्ने फोहरहरू स्थानीय निकायहरूलाई र नसड्ने फोहरहरू रिसाइकल गर्ने संस्थालाई व्यवस्थापनको लागि हस्तान्तरण गरी समापन गर्ने योजना रहेको छ । अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरणीय प्रदूषण तथा तापमान परिवर्तनको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्न नेपाली सेनाकोे विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार