निजी आवासको लाभग्राहीले दोस्रो र तेस्रो किस्ता पाएनन्

  हिमाल समाचार
203 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा निजी आवास पुनर्निर्माण सम्पन्न गरेका र पुनर्निर्माण गरिरहेका लाभग्राहीले असोज ३० यता सरकारले उपलब्ध गराउदै आएका अनुदान बापतको रकम पाएका छैनन् ।

निजी घर पुर्ननिर्माण भई सकेपछि तेस्रो किस्ताका लागि माग गरेका १८२ लाभग्राही र घर निर्माण गरिरहेका ७२ लाभग्राहीले दोस्रो किस्ता बापतको रकम नपाएका हुन् ।

पहिलो किस्ता बापतको अनुदान रकम निकासा भईरहेको भएपनि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई सोलुखुम्बुको तथ्याङक अनुसार असोज ३० यता माग गरेका लाभग्राहीले दोसो र तेस्रो किस्ता पाउन सकेका छैनन् ।

आवश्यक प्रक्रिया पुरा गरि अनुदान बापतको रकम निकासाका लागी माग गरेको भएपनि उनीहरुलाई अनुदान रकम दिइएको छैन् । अनुदानका लागि सदरमुकाम धाउने लाभग्राहीहरु पटक पटक रित्तो हात फर्किन बाध्य बनेका छन् ।

बजेट नभएकाले अनुदान रकम वितरणका लागि समस्या भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई सोलुखुम्बुका ईन्जिनियर बुद्धिनारायण श्रेष्ठले जानकारी दिए ।

थप अनुदानका लागि ७४ करोड रुपैँया माग गरिएको जिल्ला आयोजना कार्यान्वयन ईकाइका प्रमुख विमल प्रसाद बरालले बताए ।
कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका अनुसार अहिले जिल्ला आयोजना कार्यान्वयन ईकाई सोलुखुम्बुको खातामा ७ करोड २५ लाख रुपैयाँ रहेको छ ।

राष्टिय पुनर्निर्माण प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेले भने अनुदान व्यवस्थापनका लागि अर्थमन्त्रालयलाई पत्राचार गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार