महाकुलुङ अध्यक्ष कुलुङ र दुई शेर्पा आरोही सम्मानित (फोटो फिचर)

  हिमाल समाचार
714 Shares

सोलुखुम्बुको महाकुलुङ १ स्थित चेरेमका स्थानीयको सक्रियतामा स्थापित चेरेम यूवा समाजले जनप्रतिनिधि र आरोहीलाई सम्मान गरेको छ ।

शनिबार काठमाण्डौँमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ र हिमाल आरोही गाल्देन शेर्पा र पासाङ ओङछु शेर्पालाई सम्मान गरिएको छ ।

पालिका अध्यक्ष कुलुङले गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट जित हात पारेका हुन् । आरोही गाल्देनले चेरेम यूवा समाजको लोगो र पासाङले महाकुलुङ गाउँपालिकाको लोगो सगरमाथाको चुचुरोमा पु¥याएका थिए ।

उनीहरुलाई प्रदेश सभा १ सदस्य उत्तम कुमार बस्नेत र समाजका कार्यवहाक अध्यक्ष फुर्लाक्पा शेर्पाले सम्मान पत्र प्रदान गरे । कार्यक्रममा अन्तराष्ट्रिय पथप्रदर्शक संघका अध्यक्ष लामा बाबु शेर्पा, सिएन फाउण्डेशनका अध्यक्ष नुरु शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

कस्ले के भने ?
बधाई तथा सम्मान कार्यक्रममा प्रदेश सभा सदस्य उत्तम कुमार बस्नेतले महाकुलुङको पर्यटन विकासमा विमानस्थल, पदमार्ग र सडकले भूमिका खेल्ने बताए । महाकुलुङ सुन्दरतालाई अन्यत्रसँगको कुनैपनि भूगोलसँग तुलना गर्नै नमिल्ने जिकिरे गर्दै सांसद बस्नेतले गुदेलमा बन्ने विमानस्थलको काम अघि बढाउन सके त्यसले महाकुलुङको पर्यटनको ढोका खोल्ने बताए ।

महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले पर्यटनको लागि महाकुलुङ ‘भर्जिन ल्याण्ड’भएकाले प्रदेश र संघीय सरकारले लगानी बढाउनुपर्ने बताए । उपलब्धि देखिने गरि लगानी गर्न सके पर्यटनबाट सजिलै राजस्व संकलन गर्न सकिने उनले बताए । कुलुङ, शेर्पा लगायतका जातजातीको भाषा संस्कृतिको संरक्षणका साथै पर्यटनको विकासका लागि पोटर, गाइड, कुक लगायतका सीपमूलक तालिम संचालन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको अध्यक्ष कुलुङले बताए ।

नेकपा एमाले महाकुलुङका अध्यक्ष मछिन्द्र कुलुङले खुम्बुपछिको संभावना बोकेको थलो महाकुलुङ भएकाले पर्यटन विकासमा समन्वय र सहकार्यको भावनाबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । आरोही पासाङ ओङछु शेर्पाले संभावना रहेपनि संरचना र प्रचार अभावमा महाकुलुङको पर्यटन फस्टाउन नसकेको बताए । पर्यटनको विकासकै लागि पालिकाको लोगो लिएर सगरमाथा आरोहण गरेको शेर्पाको भनाई थियो ।

चेरेम यूवा समाजका कार्यवहाक अध्यक्ष फुर्लाक्पा शेर्पाले मेरापिक क्षेत्रको पर्यटन विकासका लागि चरेम हुँदै विकास गरिने पदमार्ग दीगो हुने दाबी गरे । दुर्घटनाको जोखिमका हिसावले पनि चेरेम रुटको पर्यटन मार्गको विकास उपयुक्त हुने भन्दै प्रदेश सांसद र पालिका अध्यक्षको ध्यानाकर्षण गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार