स्काई अल्ट्रा रेस पिके पिक : ३३ कि.मि.को उपाधि पुरुषतर्फ तामाङ र महिलातर्फ शेर्पालाई

सोलुखुम्बु – सोलुखुम्बुको फाप्लुमा भएको ३३ किलोमिटर तर्कको उपाधि पुरुषतर्फ गोपाल तामाङ र महिलातर्फ लाक्पा ङिमा शेर्पाले जितेका छन् । फाप्लुबाट सुरु भएर पुनः फाप्लुमै आएर समापन भएको उक्त रेसमा पुरुषतर्फ गोपाल तामाङले ३ घण्टा ५५ मिनेटमा निर्धारित दुरी पार गरे ।

यस्तै मिलन राईले सोही दुरी ३ घण्टा ५६ मिनेट र रविन बस्नेतले ३ घण्टा ५९ मिनेटमा दुरी पार पर्दै क्रमशः दोश्रो र तेश्रो भएको रेस व्यवस्थापक प्रिति खत्रीले जानकारी दिनुभयो । यस्तै महिलातर्फ निर्धारित दुरी ४ घण्टा ४९ मिनेटमा पार गर्दै नेपाल प्रहरीका लाक्पा ङिमा शेर्पा पहिलो भइन् ।

सोही दुरी ५ घण्टा २२ मिनेटमा पार गर्दै युक्रेनका अन्सटेसिया चेट्रोभा दोश्रो र ६ घण्टा ११ मिनेट ५९ सेकेण्डमा दुरी पार गर्दै सृजना कुलुङ तृतीय भइन् । विहान ७ बजेर २ मिनेटमा सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुबाट सुरु भएको रेस प्रतियोगिता बेनी, जुनबेशी, सिमसरी डाँडा, थुकतेनछोलिङ, चिवाङ हुँदै पुनः फाप्लुमा आएर समापन भएको थियो ।

प्रतियोगितामा राष्ट्रिय र अन्तराष्ट्रिय गरी २३ जना धावकहरुको सहभगिता रहेको आयोजक नेपाल ट्रेल सिरिज काठमाण्डौँले जनाएको छ । स्थान ओगट्न सफल प्रतियोगीहरुले क्रमशः नगद ३० हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगिता कोलम्बिया स्पोर्टस वेयर नेपालको सहयोगमा नेपाल ट्रेल सिरिजले आयोजना गरेको हो । जसको पुरस्कार सोलुदुधकुण्ड नगरपालिकाले प्रायोजना गरेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार