सोलुदुधकुण्ड नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ । नगरपालिकाले वडा नम्बर ७ गार्मा स्थित गार्मा माविको खेल मैदानमा आज शुक्रबारबाट प्रतियोगिता सुरु गरेको हो । तीन दिनसम्म चल्ने उक्त प्रतियोगिताको नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । उहाँले प्रमुख एम्पायरलाई भलिबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन सत्रमा बोल्दै सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले खेल क्षेत्रको विकासका लागि नगरपालिका कुनै हालतमा पछि नहट्ने दृढता व्यक्त गर्नुभयो । देश आर्थिक संकटमा फसेकाले कतिपय कार्यक्रमहरु गर्न नसकिरहेको अवस्थामा पनि नगरपालिकाले भने रनिङ शिल्डलाई प्राथमिकतामा राखेर अघि बढाएको उहाँको भनाई छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा चिनाउने गतिलो माध्यम नै खेलकुद क्षेत्र भएकाले यसमा नगरपालिकाले गरेको लगानी खेर नजाने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले खेलकुदले स्वस्थ्यलाई मात्रै नभई राष्ट्रलाई नै मजबुत बनाउने भएकाले सोलुदुधकुण्ड नगरपालिकाले उच्च प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताउनुभयो ।

गार्माका वडाध्यक्ष, नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा कार्यक्रम संयोजक सोनाम ग्याल्जेन शेर्पाले खेल क्षेत्रलाई अब्बल बनाउन सके गाउँ/टोलको मात्रै नभई मुलुककै भलो हुने बताउनुभयो । विद्यालय तहदेखि नै खेल क्षेत्रमा लगानी र मेहनत गरेको खण्डमा त्यसले भोली देशकै नाम राख्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा नगरउपप्रमुख गान्धी माया तामाङ, तीनै तहका सुरक्षा निकायका प्रमुखहरु, विभिन्न वडाका अध्यक्ष तथा अन्य जनप्रतिनिधिहरु, शिक्षक विद्यार्थी, कर्मचारी, स्थानीय, खेलाडीहरु लगायतको उपस्थिती रहेको थियो ।

नगर क्षेत्रका १४ माध्यमिक विद्यालयका खेलाडीहरुले सहभागीता जनाएको उक्त प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स, उसु, तेकन्दो र कराँते गरि ६ विधाका विभिन्न इभेन्टस्मा खेल हुने नगर शिक्षा शाखाका सन्तोष कुमार राउतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार