‘रेडियोबाट सिकाई’को प्रसारण शुरु

  हिमाल समाचार
686 Shares

काठमाण्डौँ – शिक्षाका क्षेत्रमा काम गर्दै आएका तीन गैर–सरकारी संस्थाको सहकार्यमा सोलुखुम्बुमा रेडियो कक्षा ‘रेडियोबाट सिकाई’प्रसारणमा आएको छ ।

कोरोनाको दोस्रो भेरियन्टका कारण तत्काल विद्यालयमै उपस्थित भएर शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न नसकिने अवस्थामा रीड नेपाल, हिमालयन ट्रष्ट नेपाल र ईको हिमाल नेपालको सहकार्यमा रेडियो कक्षाको उत्पादन तथा प्रसारण शुरु गरिएको हो ।

आईतबारबाट हिमाल एफ.एम.बाट विहान ८.३० बजे र सोलु एफ.एम.बाट साँझ ६.३० बजे प्रसारण शुरु भएको ‘रेडियोबाट सिकाई’ आगामी साउन ५ बाट विस्तारित रुपमा प्रसारण हुनेछ ।

दैनिक २ घण्टा कक्षा ४ देखि ८ सम्मका विद्यार्थी लक्षित नेपाली, अग्रेजी, गणित, विज्ञान र सामाजिक विषय सहित समसामयीक तथा जीवन उपयोगी सीपका दैनिक ४ वटा कक्षा प्रसारणमा ल्याउन गरि तयार थालिएको सोलुखुम्बुका लागि रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

विद्यार्थीको प्रभावकारी सिकाईको लागि विद्यार्थी माझ अभ्यास पुस्तिका सहित प्रस्तुत हुने तयारी गरिएको छ । त्यसको लागि अभ्यास पुस्तिका निर्माणको काम धमाधम भईरहेको छ ।
रेडियो कक्षा शुभारम्भको अवसरमा शुभकामना दिदै हिमालयन ट्रष्ट नेपालका प्रमुख कार्यकारी निर्देशक डा. मिंमा शेर्पाले वैकल्पिक सिकाईका लागि रेडियो कक्षामा सहभागी भई पाठ्यक्रम र समसामयीक शिक्षा आर्जन गर्न विद्यार्थीहरुलाई आग्रह गरे । ट्रष्टले सोलुखुम्बु जिल्लामा ६ दशक (६० बर्ष)देखि शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।

सोही अवसरमा ईको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले वैकल्पिक सिकाईलाई प्रभावकारी बनाउन विद्यार्थी, शिक्षक र अभिभावकले सक्रियता देखाउनुपर्ने बताए । सोलुखुम्बु लगायतका जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको ईको हिमालले अघिल्लो बर्ष काभ्रेपलान्चोक जिल्लामा रेडियोबाट कक्षा संचालन गरि वैकल्पिक सिकाईलाई अघि बढाएको थियो ।

रीड नेपालका प्रमुख कार्यकारी निर्देशक भिम बोगटीले रेडियोबाट हुने सिकाईमा विद्यार्थी, अभिभावक र शिक्षक संवेदनशील बन्नुपर्ने बताए । कोरोनाको पहिलो चरणको फैलावटको समयमा पनि रीड नेपालले विद्यालय बन्द रहेको ३ महिना रेडियोबाट सिकाई र रेडियो होम स्कुल संचालन गरेको थियो ।

रेडियो कक्षा संचालनमा शिक्षा विकास तथा समन्वय ईकाइ सोलुखुम्बुले समन्वयात्मक भूमिका खेलेको थियो । ईकाइ प्रमुख खगेन्द्र श्रेष्ठले ग्रामिण भेगमा सिकाईको निरन्तरताको अर्को विकल्प नभएकै कारण स्थानीय सरकारको समन्वयमा जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाको सहकार्यमा रेडियो कक्षा उत्पादन तथा प्रसारणको वातावरण बनेको बताए ।

क्षेत्र विस्तार गर्दै रीड नेपाल

कोरोनाकै कारण विद्यालय छाड्ने दर कम गर्ने द्येयले ७ महिने क्विक इम्प्याक्ट परियोजना अन्तरगत मेरो रेडियो पाठशाला, मेरो भविष्य संचालनमा ल्याएको रीड नेपालले अहिले अष्ट्रेलियन सरकार (डिफ्याट)को सहयोगमा शिक्षामा स्थायित्व अभिबुद्धि परियोजना शुरु गरेको छ ।

उक्त परियोजना सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, सिन्धुली, कपिलवस्तु, रुपन्देही, बझाङ जिल्लामा रेडियो कक्षा मार्फत बालबालिकामा शैक्षिक स्थायित्व खोज्दैछ । यो परियोजना अन्तरगत पनि सम्पुर्ण जिल्लामा ‘रेडियोबाट सिकाई’का कार्यक्रम प्रसारण शुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार