शिक्षक दरबन्दी मिलान गर्दै सोलुदुधकुण्ड नगरपालिका

  हिमाल समाचार
231 Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाले शिक्षकको दरबन्दी मिलान गर्ने भएको छ । यसका लागि नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको संयोजकत्वमा चार सदस्यीय दरबन्दी मिलान, शिक्षक सरुवा, विद्यालय गाभ्ने तथा विद्यालय अनुगमन समिति गठन गरिएको छ ।

विद्यालयको अनुगमन गरी औचित्य र आवश्यकताका आधारमा उपयुक्त मापदण्ड बनाएर शिक्षकहरुको दरबन्दी मिलान गरिने नगरप्रमुख शेर्पाले बताए । विद्यालयको स्थलगत अनुगमन गरी शैक्षिक तथा भौतिक व्यवस्थापन गरिने उनको भनाई छ ।

सोलुदुधकुण्ड नगरपालिकाको नगर शिक्षा समितिको बैठकले प्रभावकारी शैक्षिक व्यवस्थापन गर्नका लागि विभिन्न निर्णय गरेको छ । वार्षिक शैक्षिक क्यालेन्डर निर्माणका लागि यही चैत १५ र १६ गते नगरपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुको बैठक हुने भएको छ ।

बैठकले सोलुदुधकुण्ड नगरपालिकाभित्र रहेका सबै सामूदायिक विद्यालयहरुमा आगामी शैक्षिक सत्रबाट कक्षा ४ देखि ८ सम्मको वार्षिक परीक्षा एकै पटक एकै तरिकाले सञ्चालन गर्ने, नगरपालिकाभित्र वडा शिक्षा समिति गठन गर्न बाँकी सबै वडामा चैत मसान्त भित्रमा गठन गर्न लगाउने निर्णय गरेको छ ।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिकोे म्याद सकिएर अर्को समिति गठन गर्न बाँकी रहेका नगरपालिकाभित्रका सबै सामूदायिक विद्यालयहरुमा यथाशिघ्र गठन गराउने र नगरपालिकाभित्र रहेका सबै विद्यालयहरुमा राष्ट्रिय कार्यक्रम अनुसार बैशाख २ गते १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार