पर्यटकीय सिजनमै लोडसेडिङको मारमा लुक्ला !

  हिमाल समाचार
119 Shares

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ लुक्ला पर्यटकीय सिजनमै लोडसेडिङको मारमा परेको छ । पर्यटकीय सिजन सुरु भएपनि लुक्लामा विद्युत नियमित नहुँदा पर्यटकदेखि स्थानीय समेत मर्कामा परेका हुन् ।

लुक्ला क्षेत्रको करिब ४५० घरधुरीलाई बमखोला लघुजलविद्युत आयोजनाले विद्युत सेवा दिदै आएको छ । तर करिब ३ महिना अघि उक्त विद्युतको दुई वटा मेसिन मध्ये एउटामा खराबी आएपछि नयाँ खरिद गरेर फाप्लुमा राखिएको छ । त्यस लगत्तै नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टरहरुको सिलिङ उठान बन्द गर्दा उक्त विद्युत मेसिन तिन महिनादेखि फाप्लुमै अलपत्र परेको विद्युत उपभोक्ता समितिका अध्यक्ष एवं वडाध्यक्ष आङ फुर्वा शेर्पाले बताउनुभयो ।

विद्युतका साना सामाग्रीहरु जहाज मार्फत लुक्ला पु¥याएपनि ठुला तथा धेरै वजन भएका मुख्य मेसिनसहितका उपकरणहरु भने फाप्लुमै रोकिएको छ । जसका कारण लुक्लाले लामो समयदेखि लोडसेडिङको मार खेप्न बाध्य बनेको अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँका अनुसार १ हजार २ सय ३० किलोको टरवाईन, ३३० किलोको टरवाइन, ७६० किलोको जेनेरेटर, १३० किलोको इएलसी बोर्ड, १३० किलोको बेस फ्रेम लगायतका वजनदार समाग्रीहरु फाप्लु एयरपोर्टमै थन्किएका छन् ।

सडक सञ्जाल नपुगेका कारण लुक्ला क्षेत्रमा ढुवानीका लागि हेलिकप्टरको विकल्प छैन् । तर प्राधिकरणले सिलिङ उडानमै प्रतिबन्ध लगाउदा खुम्बुबासी मारमा परेको उहाँको भनाई छ । सिलिङ उडान अनुमती दिन वडा कार्यालयले सामाग्रीको लिष्टसहित प्राधिकरणलाई पत्र नै काटेपनि सुनुवाई नहुँदा पर्यटकीय नगरी लुक्ला सिजनमा समेत लोडसेडिङको मारमा परेको वडाध्यक्ष समेत रहेको शेर्पाले गुनासो गर्नुभयो ।

‘प्राधिकरणको त्यो निर्णयले खुम्बुबासीलाई अन्याय भएको छ, यस्तै हो भने लुक्लामा कुनै पनि उडान भर्न नदिने गरी आफुहरु आन्दोलनमा उत्रन्छौ’स्थानीय टासी शेर्पाले भन्नुभयोे । नेपाल नागरिक उड्यन प्राधिकरणले भने सेप्टेम्बर अन्तिमबाट हेलिकप्टरलाई सिलिङ उडानको अनुमती दिने बताएको छ ।

गत असार २६ गते मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएपछि प्राधिकरणले हेलिकप्टर उडानमा कडाई गरेको हो । प्राधिकरणले त्यसयता मौसमको कारण सुरक्षालाई ध्यान दिदै सेप्टेम्बर अन्तिम सम्मका लागि हेलिकप्टर मार्फत हुने सामाग्री ढुवानीलाई रोक लगाएको थियो । खुम्बु क्षेत्रमा पर्यटक सिजन सुरु भएकाले यतिखेर लुक्लामा विदेशी तथा स्वदेशी पर्यटकको चाप क्रमिक रुपले बढिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार