वडा कार्यालय तिङ्लाको सार्वजनिक सुनुवाइ सकियो

  हिमाल समाचार
875 Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाले चालु आर्थिक वर्षको प्रथम र दोश्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले आज शुक्रवार तिङ्लामा जनसहभागीतासहितको सवालजवाफ कार्यक्रम सम्पन्न गरेको हो ।

वडा कार्यालयमा भएको उक्त कार्यक्रममा चालु आर्थिक वर्षमा सञ्चालित वडाका विकासे योजना, सेवा प्रवाह, सुशासन, जवाफदेहिता, पारदर्शिता लगायतका सवालमा नागरिकले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ नगर तथा वडाका जनप्रतिनिधि, कर्मचारीहरुले प्रत्यक्ष रुपमा दिएका थिए ।

चालु आर्थिक वर्षमा वडागत विकासे बजेट ४५ लाख, नगरस्तरीय बजेट ६० लाख तथा संघका एक करोड रहेको वडाले जनाएको छ । वडागत २७ वटा योजना मध्ये ७ वटा सञ्चालनमा, ८ वटा सम्झौता हुन बाँकी र बाँकी करिब अन्तिम चरणमा रहेको जनाएको छ । यस्तै नगरस्तरीय १३ वटा योजनामध्ये २ वटा सम्पन्न, ३ वटा सञ्चालनमा र बाँकी सम्झौता हुने चरणमा रहेको वडा सचिव रमेश कुमार कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङले सन्तुलित विकास, पारदर्शिता तथा जवाफदेहिताको सवालमा नगरपालिका सचेत रहेको बताउनुभयो । नगरपालिकाको सम्पुर्ण गतिविधि नै नागरिक केन्द्रित हुने भएकाले जनताबाट लुकाउनुपर्ने विषय कुनै नरहेको उहाँको भनाइ छ ।

वडाध्यक्ष टंक बहादुर कार्कीले वडाको विकास एक जनाको मात्रै प्रयासले सम्भव नहुने भएकाले सबैको हातेमालो जरुर रहेको बताउनुभयो । वडा समृद्ध र विकसित भयो भने भोलीका दिनमा पनि राजनिति गर्न सकिने भएकाले विकास र परिवर्तनमा कसैले राजनितिक पुर्वाग्रह राख्न नहुने जिकिर गर्नुभयो । योजना शाखा प्रमुख राम कुमार खड्काले नगरपालिकाले सिमित श्रोत साधनका बावजुत पनि सन्तुलित तवरबाट विकास गरिरहेको दाबी गर्नुभयो ।

वडाध्यक्ष टंक बहादुर कार्कीको अध्यक्षता तथा नगरपालिका उपमेयर गान्धी माया तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्यहरु मिठुला खड्का, नगर योजना शाखा प्रमुख राम कुमार खड्का, आइटी अफिसर दोर्जी शेर्पा, स्थानीय राजनितिक दलहरुका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, कर्मचारीहरु, सरोकारवालासहित स्थानीयबासीको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार