सगरमाथा क्षेत्रमा नेपालसहित विश्वचर्चित ११ भ्लगरको साहसिक रियालिटी शो छायांकन

  हिमाल समाचार
182 Shares

सोलुखुम्बु – नेपालसहित विश्वचर्चित ११ भ्लगरलाई लिएर अमेजन प्राइम भिडियोको साहसिक रियालिटी शो ‘द च्यालेन्जर्स ः गेम अफ द हिमालयज’को छायांकन सगरमाथा क्षेत्रमा गरिएको छ ।

अमेरिका बाहिर रहेका प्राइम भिडियोका दर्शकले आठवटै एपिसोड हेर्न शनिबारसम्म कुर्नुपर्नेछ । अमेरिकामा भने प्लाटफर्मका सब्सक्राइबरलाई अहिल्यै यो शो हेर्न उपलब्ध छ । चैत २४ गते काठमाडौंमा यो सिरिजको उद्घाटन कार्यक्रम तय गरिएको छ ।

विश्वकै अग्लो स्थानमा छायांकन गरिएको यो रियालिटी शोका विजेताले एक लाख अमेरिकी डलर (एक करोड ३३ लाख रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्नेछन् । जेठ अन्त्यमा अमेरिकामा आयोजना हुने रेडकार्पेट शोमा विजेता घोषणा गरिने जनाइएको छ ।

दुई नेपाली भ्लगर विश्वास राई र निशा खालिङ प्रतिस्पर्धामा छन् । भारतबाट एमटीभी रोडिज विजेता आशिष भाटिया, इण्डिया भ्लग च्यालेन्ज विजेता क्यामरावालेभाइ र अटो भ्लगर विशाखा फुलसुंगे पनि प्रतिस्पर्धामा छन् ।

अमेरिकी युट्युब हाइकर क्र्याग एडम्स र ड्रोन पाइलट स्टिल डेविस, थाइल्यान्डका नाथन बार्टलिंग, लुक मी, फिलिपिन्सका विल दासोविच र कोलम्बियाका क्रेयटर जुनेन्स वेलेजले शोमा प्रतिस्पर्धी छन् ।

यी सबै प्रतिस्पर्धीलाई चर्चित आरोहीहरु कामिरिता शेर्पा, निर्मल पूजा लगायतले गाइड गरिरहेका छन् । लुक्लादेखि सगरमाथा आधारशिविरसम्म १२ दिनसम्म भ्लगरले गरेको साहसिक यात्रा र गतिविधिबारे शो बनेको छ । वर्ल्ड भ्लग च्यालेन्ज प्रालिको ब्यानरमा २०७८ को कात्तिक ३ देखि १९ गतेसम्म शोको छायांकन गरिएको हो । यो शोको नेपाली निर्माताको रुपमा श्री गुरुङ छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार