‘मेरो कित्ता अनलाइन’ सेवा सुरु गर्ने पहिलो पालिका बन्यो थुलुङ दुधकोशी

गाउँपालिकाबाटै नक्सा प्रिन्ट, फिल्डबुक उतार लगायतको सेवा प्रवाह हुने

  हिमाल समाचार
441 Shares

सोलुखुम्बु – सोलुखुम्बु जिल्लामै पहिलोपटक थुलुङ दुधकोशी गाउँपालिकाले मेरो कित्ता अनलाइन प्रणाली सुरु सञ्चालनमा ल्याएको छ । आज मंगलबार गाउँपालिकामा एक कार्यक्रमका बीच उक्त सेवा सुरु भएको हो । यससँगै जिल्लाको ८ स्थानीय तह मध्ये मेरो कित्ता अनलाइन प्रणाली सुरु गरि सेवा प्रवाह गर्ने थुलुङ दुधकोशी गाउँपालिका पहिलो स्थानीय तह बनेको छ ।

अबदेखि नापी कार्यालयबाट प्राप्त गर्ने सेवा नक्सा प्रिन्ट, फिल्ड बुक उतार लगायतको काम अब गाउँपालिकाबाटै हुने भएको छ । यस अघि नक्सा प्रिन्ट गर्नको लागि नापी कार्यालय सल्लेरी नै पुग्नुपर्ने बाध्यता थियो । अबदेखि थुलुङ दुधकोशी गाउँपालिकाको कार्यालय मुक्लीबाटै ती सेवाहरु प्राप्त गर्न सकिने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

नापी कार्यालय सोलुखुम्बुका प्रमुख प्रमोद गरागाईले उक्त सेवा सन्चालनको लागि आवश्यक युजर र पासवर्ड गाउँपालिका अध्यक्ष असिम राईलाई हस्तान्तरण गर्नुभयो । पालिका अध्यक्ष असिम राईले नागरिकलाई सहज रुपमा सेवा प्रवाहको लागि गाउँपालिकाले अथक प्रयास गरिरहेको बताउँनुभयो ।

आफ्ना पालिकाको नागरिकलाई सहज ढंगले सेवा उपलब्ध गराउने सबालमा सबैपक्षसंग समन्वय गरी काम गरिरहेको भन्दै अध्यक्ष राईले एक सय राजश्व तिरेर प्राप्त हुने नक्सा प्रिन्टको लागि हजारौ खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँनुभयो । अब देखी गाउँपालिकाबाट नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिष्टर प्रिन्ट लगायतको सेवा कार्यालयबाटै प्राप्त हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार