यी हुन् टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति

  हिमाल समाचार
7 Shares

काठमाण्डौं – अमेरिकी चर्चित टिकटक प्रयोगकर्ता चार्ली डिमेलियो टिकटकमा १० करोड फलोअर्स कमाउने पहिलो व्यक्ति भएकी छिन्। अमेरिकी अखबार द भर्जका अनुसार आइतबार चार्लीले विश्वका ठूला सेलेब्रिटी, युट्युबर र इन्स्टाग्रामरलाई पछि पार्दै टिकटकमा नयाँ इतिहास बनाएकी हुन्।

१६ वर्षीया चार्ली विशेषगरी आफ्ना नाचका लागि चर्चित छन्। डिमेलियोले टिकटक भिडिओ बनाउन थालेको धेरै पनि भएको छैन। उनले सन् २०१९ मे महिनामा आफ्नो पहिलो टिकटक भिडिओ पोस्ट गरेकी भर्जले जनाएको छ।

उनले पहिलो पटक आफ्नो कोठाभित्र नाचेको भिडिओ बनाएकी थिइन् जुन छोटो समयमै भाइरल भयो। यसरी पन्ध्र सेकेन्डको टिकटक भिडिओमा नाचेरै उनले छोटो समयमै दस करोड फलोअर्स कमाएकी हुन्।

एउटी सामान्य किशोरी एकाध वर्षमा चर्चित टिकटक स्टार मात्र भइनन्, टिकटक बाहिर पनि उनको करिओर राम्रो हुँदै गएको छ। यही वर्ष चार्लीले पहिलो फिल्म डेब्यू गरेकी छिन्। उनको आफ्नै नेल-पोलिस ब्रान्ड पनि छ। साथै उनले ठूला मेकअप तथा फेसन ब्रान्डसँग पनि काम गरिसकेकी छिन्।

उनले अमेरिकाकी चर्चित गायक जेनिफर लोपेजको म्यूजिक भिडिओमा पनि सँगै काम गरिसकेकी छिन्। पछिल्लो वर्ष उनले आफ्ना कामबाट चालीस लाख अमेरिकी डलर कमाएको द भर्जले बताएको छ।

चार्लीको परिवारमा उनीसँगै उनकी दिदी र आमाबुबा उत्तिकै चर्चित छन्। चार्लीकी दिदी डिक्सी डिमेलियो गायक हुन्। यी दुई दिदीबहिनीले आफ्नै पोडकास्ट सुरू गरेका छन्। चार्लीकी आमाबुबा हेइडी र मार्क डिमेलियोले पनि टिकटक, इन्स्टाग्राम र ट्विटरमा फलोअर्स कमाइरहेका छन्। तर डिमेलियो परिवारको सफलता चार्लीले गर्दा नै भएको मानिने भर्जले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार