हलेसी तुवाचुङ नगरपालिका शिल

  हिमाल समाचार
91 Shares

खोटाङ – कोभिड–१९ संक्रमित भेटिएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई शिल गरिएको छ । आइतबार बिहान हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको छापडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसीमा गरिएको एन्टीजेन परिक्षणका क्रममा ८ जनालाई कोरोना संक्रमण पूष्टी भएपछि नगरपालिकालाई सिल गरिएको हो ।

संक्रमित भेटिए लगत्तै अर्को व्यवस्था नभएसम्मका लागि नगरपालिकाभित्रका भित्र पर्ने राजमार्ग तथा सडकमा आवत–जावत बन्द गरिएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि मध्यपहाडी लोकमार्ग अन्तरगत नगरपालिकाभित्र पर्ने जयरामदेखि बिजुलेसम्मको आसपासका बजार तथा पसल बन्द गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

मध्यपहाडी लोकमार्ग अन्तरगतका जयराम, कदुवा, च्यास्मीटार, बोझे, बडहरे, दुर्छिम, हलेसी, अखौैले र बिजुले बजार बन्द गरिएको हो । यस्तै, दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत सोही नगरपालिकाभित्र पर्ने रेग्मीटारदेखि राजापानीसम्मको खण्ड पनि बन्द गरिएको मेयर राईले बताए ।

औषधि, इन्धन जस्ता अत्यावश्यक सामग्री बोकेका बाहेक अन्य सवारी साधनको आवत–जावतमा पूर्णरुपमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । भिडभाड भएर गरिने धार्मिक, साँस्कृतिक एवं राजनीतिक कार्यक्रममा पनि बन्देज लगाइएको छ ।

वडाध्यक्ष, सञ्चारकर्मी र कर्मचारी पनि संक्रमित

दुर्छिम र हलेसीमा गरिएको एन्टीजेन परिक्षणका क्रममा जनप्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी र स्थानीयलाई कोरोना संक्रमण पूष्टी भएको छ । १२ जनाको एन्टीजेन परिक्षण गर्दा ३९ वर्षका वडाध्यक्ष, ३२ वर्षका वडा सदस्य, २८ वर्षीय सञ्चारकर्मी, २७ वर्षीय इन्जिनियर लगायतलाई कोरोना संक्रमण पूष्टी भएको हो ।

यस्तै, ५० वर्षका पुरुष, ४४ वर्षका पुरुष, ३८ वर्षका एक पुरुष र ४१ वर्षका एक महिलालाई कोरोना संक्रमण पूष्टी भएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए ।

अहिले पनि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा संक्रमणको आशंका गरिएका र सामान्य लक्षण देखिएका व्यक्तीको एन्टीजेन परिक्षण भइरहेको छ । अखौैलेपछि हलेसी तुवाचुङ नगरपालिका–१२ राजापानीमा समेत एन्टीजेन परिक्षणको तयारी गरिएको नगरपालिकाले जनाएको छ । nepalwide.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार