जंगलको च्याउ आम्दानीको स्रोत

  हिमाल समाचार
931 Shares

सोलुखुम्बुको सदरमुकाम सल्लेरी आसपासको जंगलमा पाइने रातो च्याउ प्रति उपभोक्ताको आर्कषण बढ्दो छ । जंगलमा आफैँ उम्रने औषधीय गुण भएको रातो च्याउँको बिक्रीबाट स्थाानीयले रामै आम्दानी गरिरहेका छन् ।

सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीकी सुकुमाया थापा मगर साप्ताहिक हाट नयाँ बजारमा रातो च्याउ किन्दै गर्दा भेटिइन् । वर्षातको सिजनमा जंगलमा पाइने रातो च्याउ स्वादिलो हुनका साथै औषधिय गुणले भरिपूर्ण हुने उनको विश्वास छ । ‘च्याउ चाँही किनियो, अहिले सिजनको मिठो हुन्छ । लोकल च्याउको स्वाद मनपर्ने भएकाले किनेको । रातो च्याउ स्वास्थ्यका लागि राम्रो हुन्छ भनेको सुनेको छु ।’उनले भनिन् ।

रातो च्याउ समुद्री सतहबाट एक हजार मिटर देखि अठ्ठार सय मिटर उचाइ अवस्थित जंगलको मुढाहरुमा उम्रने गर्दछ । घना जंगलहरुमा बर्षातको सिजनमा मात्रै उम्रने रातो च्याउलाई स्थानीयले संकलन गरि बिक्रीका लागि बजार सम्म ल्याउछन् । जसबाट राम्रै आम्दानी समेत गर्न सकिने भित्ताखर्कका तेज बहादुर खड्का बताउछन् । उनले भने, ‘जंगलमा च्याउ खोज्दा निकै सास्ती खेप्नुपर्छ । घरबाट विहान हिँडेको मान्छे रातिसम्म पनि जंगलमै भुल्नुपर्ने पनि हुन्छ । बढिमा प्रतिकेजी ११ सयसम्ममा विक्रि गरेको छु ।’ रातो च्याउ महंगो भएपनि उपभोक्ताको आकर्षण रहेको तेजले बताए ।

प्राय कुहिन थालेको ठिङ्ग्रे सल्ला, खस्रु लगायतका रुखको मुढामा उम्रने यस च्याउ संकलन गर्न भने त्यति सजिलो छैन् । घना जंगलमा भालु लगायतका हिंस्रक जिवजन्तुहरुको त्रास र झरीबादल नभनी जंगल चहार्नुपर्ने सोलुखुम्बु लोदिङकी मनिसा तामाङ बताउछिन् । ‘जंगलमा भालुको डर त छदैछ, त्यसमा पनि झरीमा भिजेर टिप्नुपर्ने हुन्छ ।’उनले भनिन् ।

पछिल्लो समय नेपाली भन्सामा च्याउको प्रयोग सामान्य बन्दै गएको छ । तर जंगलमा आफै उम्रने यि च्याउहरु बाहै महिना नहुने भएकाले पनि उपभोक्ताहरु यस्ता च्याउप्रति आर्कषित छन् । रातो च्याउ सिजनमा स्थानीयको आम्दानीको श्रोत बनिरहेको छ भने जिल्ला बाहिर पनि कोशेलीको रुपमा लैजाने गरिएको छ ।

रेडियो रिर्पोटमा आधारित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार