सोलुमा सकियो ‘सुआहारा–२’ कार्यक्रम

  हिमाल समाचार
546 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा पोषण तथा स्वास्थ्य व्यवहारको क्षेत्रमा काम गर्दै आएको ‘सुआहारा–२’ कार्यक्रम सकिएको छ । युएसएआइडीको सहयोगमा जिल्लामा विगत  ७ वर्षदेखि पोषण सुधारको क्षेत्रमा काम गर्दै आएको उक्त कार्यक्रम सकिएको हो ।

जिल्लामा सन् २०१६ सेप्टेम्बरदेखि योङ स्टार क्लवसँगको साझेदारीमा सुरु भएको ‘सुआहारा–२’ कार्यक्रम २०२३ को अक्टोरमा औपचारिक रुपमा सकिएको सुआराले जनाएको छ । कार्यक्रमको आज शुक्रबार सल्लेरीमा एक कार्यक्रमको आयोजना गरि औपाचारिक रुपमा समापन गरिएको कार्यक्रमका जिल्ला संयोजक दिपक राजभण्डारीले जानकारी दिए ।

उक्त कार्यक्रमले प्रसूति, स्तनपान, खानेपानी, सरफाई लगायतका सवालहरुमा सकरात्मक परिवर्तन ल्याउन सफल भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । सुआहारा कार्यक्रमले पोषण सुधारका लागि ‘भन्छिन् आमा’ रेडियो कार्यक्रम समेत उत्पादन तथा प्रसारण गर्दै आएको थियो । उक्त रेडियो कार्यक्रमको प्रभावकारिता ४० देखि ७० प्रतिशत सम्म पाइएको प्रतिवेदनमा उल्लेख छ ।

सो कार्यक्रम हिमाल एफ.एम.बाट पनि प्रसारण हुँदै आएको थियो । समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले ‘सुआहारा–२’ कार्यक्रमले जिल्लाको पोषण र स्वास्थ्य व्यवहारको सवालको गरेको योगदानको प्रसंशा गर्दै धन्यवाद दिए ।

साथै जिल्लाका लागि अझै कार्यक्रम आवश्यक रहेको भन्दै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । समापन कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । साथै सुआहारा कार्यक्रमले स्थानीय साझेदार संस्था योङ स्टार क्लवलाई प्रशंसा–पत्र मार्फत सम्मान गरेको छ ।

‘सुआहारा–२’ कार्यक्रम सोलुखुम्बु कोशी प्रदेशको ५ जिल्ला भोजपुर, संखुवासभा, पाँचथर, ताप्लेजुङ र देशको ४२ वटा जिल्लामा लागु भएको थियो । यससँगै ४२ कार्यक्रम सकिएको ‘सुआहारा–२’ कार्यक्रमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार