कांग्रेस महासमिति बैठकमा सोलुखुम्बुुका कार्की, बस्नेत, शेर्पा, थापा र नेपालीले राखे यस्तो धारणा…..

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – नेपाली कांग्रेसको जारी महासमिति बैठकमा हिमाली जिल्ला सोलुखुम्बुका महासमिति सदस्यहरुले आफ्नो धारणा राखेका छन् । नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका बुधबार सोलुका पाँच जना नेताहरुले आफ्नो धारणा तथा सुझाव राखेका हुन् ।

बैठकमा बोल्दै महासमिति सदस्य एवं कांग्रेस नेता प्रकाशसिं कार्कीले पर्यटन क्षेत्रलाई सुधार गर्न सरकार लाग्नुपर्ने धारणा राख्नुभयो । नेपालमा चीनबाट आउने पर्यटकबाट भन्दा भारतबाट आउने पर्यटकबाट बढी फाइदा लिन सकिने भएको उहाँको भनाइ छ । तर भारतबाट आउने पर्यटकले २५ हजार भारतीय रुपैयाँ मात्रै बोकेर आउन पाउने सरकारी नियम रहेकाले यसबाट देशलाई घाटा हुने नेता कार्कीको सुझाव छ ।

२५ वर्ष अघि निर्माण भएको नियम अहिले सान्र्दभिक नहुने भएकाले यसलाई परिमार्जन गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । साथै उहाँले देशको अर्थतन्त्र, जनजिविका, रोजगार र गठबन्धनको विषयमा आफ्नो धारणा राख्नुभयो ।  यस्तै सोताङ गाउँपालिका अध्यक्ष समेत रहेका नेता खिलराज बस्नेतले गठबन्धनले पार्टीलाई हित नगरेकाले यसको औचित्य नरहेको बताउनुभयो ।

नागरिकको जनजिविकालाई केन्द्रमा राखेर काम गर्नुको सट्टा गठबन्धन सरकार सत्ता टिकाउनमा मात्रै लिप्त भएकाले गठबन्धनबाट केही फाइदा नरहेको उहाँको तर्क छ । अर्का नेता पासाङ शेर्पाले हिन्दु राष्ट्र कांग्रेसले कदापि स्विकार गर्न नसक्ने बताउनुभयो ।

नेपाली कांग्रेस जस्तो साझा र भरोसा बोकेको पार्टीले कुनै एक धर्मलाई बोकेर हिड्न नहुने तर्क गर्दै नेता शेर्पाले कांग्रेस कुनै पनि हालतमा हिन्दु राष्ट्रको पक्षमा उभिन नहुने सुझाव दिनुभयो । यस्तै नेता नविन थापाले कांग्रेस अब गठबन्धनमा अल्झिन नहुनेमा महामन्त्री गगन कुमार थापाको प्रस्तावलाई सर्मथन जनाउनुभयो । गठबन्धन पार्टीको हितमा नरहेकाले यसलाई अघि बढाउन नहुने उहाँको जोड थियो ।

साथै पार्टीले पहुँचको भरमा टिकट वितरण गर्ने पद्धती अपनाएकाले यसबाट कार्यकर्ता पंक्ति निराश रहेकाले यसलाई तोड्नुपर्ने धारणा राख्नुभयो । यस्तै नेता धर्म नेपालीले दलितको पक्षमा पार्टी दरिलो भएर उभिन नसकेको दाबी गर्नुभयो । केन्द्रका दलित भनिएका नेताहरु आफ्नै स्वार्थमा मात्रै लिप्त हुँदा दलिताको सवाल ओझेलमा परेको उहाँको भनाई छ ।

यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक आज बिहीबार समापन हुँदै छ । महासमिति बैठकको अन्तिम दिन बिहान बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन् । त्यसपछि आजै अपराह्न समापन समारोह गरिने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार