शैक्षिक गुणस्तर सुधारमा थुलुङ दुधकोशीद्वारा जारी शैक्षिक श्वेत पत्रको सकारात्मक प्रभाव

 

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले जारी गरेको शैक्षिक श्वेत पत्रको प्रभाव शैक्षिक गुणस्तरमा सकारात्मक परेको पाइएको छ । बुधबार गाउँपालिकाले आयोजना गरेको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति बीच अन्तरक्रिया कार्यक्रममा बोल्ने सबैले शैक्षिक श्वेत पत्रले शैक्षिक गुणस्तर वृद्धिमा सकारात्मक प्रभाव पारेको बताउनु भएको हो ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले स्थानीय सरकार आउनुपुर्व कहालीलाग्दो अवस्थामा रहेको शैक्षिक अवस्थामा सुधार आएको प्रती खुशी व्यक्त गर्नु भएको छ । । कुनै समय शिक्षक र विद्यार्थी ११ बजे सम्म पनि विद्यालय नपुग्ने देखि नियमित नहुने लगायत कयौं समस्या रहेको सम्झदै अध्यक्ष राईले पछिल्लो समयको सुधार संतोषजनक रहेको बताउनुभयो ।

भौतिक पुर्वधार निर्माणका बिकास तत्काल देखिने भएपनि पालिकाले शिक्षामा गरेको ठूलो लगानीको नतिजा लामो समयपछि देखिने भन्दै राईले अहिलेको अवस्थालाई अझ माथी उकास्नको लागि सक्रिय हुन सुझाव दिनुभयो । शिक्षकले सिर्जनशीलतामा जोड दिनसके शिक्षाका लागि गाउँ छोड्नुपर्ने बाध्यतामा कमि आउने उहाँको भनाई छ ।

पालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि २०८० जेठ २१ गते १६ बुदे शैक्षिक श्वेत पत्र जारी गरेको थियो । उक्त श्वेत पत्रका कारण विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई काम गर्न सहज बन्नका साथै शैक्षिक गुणस्तरमा समेत वृद्धि भएको पाइएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिकाले शैक्षिक क्षेत्रमा गरेको लगानी अनुसार गुणस्तरीयता कायम गर्न लागिरहेको कालिकादेवी माध्यमिक विद्यालाय पन्चनका प्रधानाध्यापक बिष्णु ढुङ्गेलले बताउनुभयो । गाउँपालिका सरकार प्रमुखको शिक्षा क्षेत्रमा देखिएको लगाब तथा उत्प्रेरणाका कारण आफुहरु थप सक्रिय बन्नेगरेको जोगरा आधारभुत विद्यालयका प्रधानाध्यापक सैमान नेपालीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र स्थानीय सरकार बीच आवश्यक छलफल गरि शैक्षिक गुणस्तरका लागि काम गरिरहेको देउसा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक बहादुर राईले बताउनुभयो । स्थानीय सरकारको सहयोगका कारण आफुहरुलाइ काम गर्न सहज भएको उहाँको भनाइ छ ।

कार्यक्रममा पालिका भित्रका ५२ वटा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको सहभागीता रहेको थियो, भने उपस्थित विद्यालायका प्रधानाध्यापक र व्यवस्थापन समितिले विगत र वर्तमानको शैक्षिक अवस्थाका बारेमा जानकारी दिदै आगामी योजनाका लागि सुझाव समेत दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार